राष्ट्रिय खेलाडी उत्पादन गर्न ‘मेयर कप’ आयोजना

चितवन । जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुलस्तरीय खेलकुद अनिवार्य रहेको सरोकार भएकाहरूले बताएका छन् ।

आजदेखि सुरु भएको भरतपुर ‘मेयर कप’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले स्थानीय तहमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरसम्म पुग्न सहयोग हुने बताएका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको बताउँदै यो प्रतियोगिता राष्ट्रियस्तरका दक्ष खेलाडी उत्पादनमा सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्,“गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, रङ्गशाला निर्माण तीव्र रूपमा अघि बढिरहेको छ । आगामी नेपाल प्रिमियर लिग यही गर्नेगरी काम अघि बढाएका छौँ ।”

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले नेपालको खेलकुदलाई स्थानीयस्तरबाट सक्रिय बनाउन सके यस क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने धारणा राखे । उनले भने,“खेलकुद जुनसुकै भए पनि राज्य र निजी क्षेत्रको सहयोग आवश्यक छ ।”

स्थानीयस्तरबाट हुने प्रतियोगिताबाट नेपालका राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि महत्वपूर्ण योगदान रहने गरेको सचिव खड्काले बताए । नेपालको क्रिकेट प्रतियोगितालाई उचाइमा पुर्‍याउन यस्ता प्रतियोगिता सहयोगी हुँदै गएका उनको भनाइ थियो ।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, क्रिकेट सङ्घ चितवनका अध्यक्ष सुदिप पिया, भरतपुर सङ्घका अध्यक्ष मनिस सापकोटालगायत वक्ताले खेलकुदसहित समग्र विकासका लागि चितवन उत्कृष्ट रहेको बताएका थिए ।

सो अवसरमा भरतपुर महानगरपालिकाले यु–१९ विश्वकप क्रिकेटमा सहभागी महिला टोलीलाई जनही रु ५० हजारका दरले सहयोग समेत गरेको छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४७ वटा विद्यालयको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *