रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ ।
शनिवारबाट काठमाडौंको एक होटलमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो । बैठक आजबाट सुरु भएको र आईतवारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताए ।
उनकाअनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ । साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरूबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ । जनपक्षिय मुद्दालाई सशक्त रुपमा अघि बढाउनेबारेमा पनि छलफल हुने बताए ।
संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने बताए ।
उनले भने ‘दुई दिने केन्द्रीय समितिको बैठकमा छौँ । राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अप्ठ्यारो अवस्था सिर्जना भइरहेको छ । पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका छन् । जनताले यी राजनीतिक दललाई जिस्काइरहेका छन् । ती समस्या चिरेर अघि बढ्ने जिम्मेवारी हामीसँग छ । जनपक्षिय मुद्दालाई सशक्त रुपमा अघि बढाउनु रास्वपाको जिम्मेवारी छ । स्थानीय तहको उपनिर्वाचनसँग जोडिएका विषयमा छलफल गरिरहेका छौँ । संगठनको भावी रणनीति, संगठनलाई सबलीकरणका बारेमा पनि छलफल गरिरहेका छौँ । सहकारी सम्बन्धी अध्यादेश, २०८१ सरकारले अहिले ल्याएको छ । सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भुमिका खेलेको छ । रास्वपा सभापतिलाई अप्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’
पार्टीको केन्द्रीय समितिको बैठक आईतवारसम्म चल्नेछ ।