गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस् : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा ले गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नठान्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ गल्ती गर्ने अनि सडक आन्दोलन गरेर मुक्ति मिल्छ भन्ने नसोच्न आग्रह गरेका हुन् ।

पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले गल्ती गरेको छैन भने न्यायिक छानबिनबाट नतर्सिन आग्रह गरे । उनले न्यायिक छानबिन र अनुसन्धानलाई सघाउन आग्रह गर्दै गल्ती गरेको खण्डमा सडकको आन्दोलनले मुक्त हुनेकुरा नसोच्न आग्रह गरे । उनले सहकारीको रकम ठग्नेहरूमाथि कारबाही गर्नको लागि र कारबाहीलाई अझ प्रभावकारी बनाउनको लागि र बचतकर्ताहरूको बचत फिर्ता गर्नको लागि सरकार लागि परेको बताए ।

उनले अहिलेसम्म सरकारले ६ हजार बचतकर्ताको बचत सम्पूर्ण रुपमा फिर्ता गरिसकेको दाबी गरे । उनले ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरिसकेको र २ हजारको छानबिनको क्रमसँगै ५० प्रतिशत बचत फिर्ता गरेको बताए । उनले बाँकी ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्नको लागि सरकार लागिपरेको उल्लेख गरे । उनले सरकार समाजमा भएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मूल गर्न लागिपरेको बताए ।

उनले भने ‘अहिले सरकारले समाजमा भएका विकृति, विसङ्गतिलाई पराजित गर्नको लागि अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मूल गर्नको लागि अहिले हामी लागिरहेका छौँ । सहकारीको क्षेत्रमा जुन खालको भद्रगोल, बचत अनियमितताको का भइरहेको थियो, असाध्यै धेरै समस्याग्रस्त २२ वटा सहकारीहरूको अनुसन्धानको लागि प्रतिनिधि सभामा उपस्थित सम्पूर्ण दलहरूको सहभागितामा, सम्पूर्ण दलहरू सहभागी भएको अधिकार सम्पन्न संसदीय समिति गठन गरेर त्यसले एउटा प्रतिवेदन दियो र प्रतिवेदनमा देखाइएका व्यक्ति र संस्थाहरूप्रति सरकारले छानबिनको काम सुरु गरेको छ । छानबिनको क्रममा गल्ती गरेको छैन भने न्यायिक छानबिनमा कोही नतर्सिनुस्, न्यायिक छानबिन र अनुसन्धानलाई सघाउनुपर्याे । अब गल्ती गरेको छ भनेपनि सडकको आन्दोलनले म मुक्त हुन्छु भन्नेकुरा कसैले नसोचे पनि हुन्छ । यही अभियानमा हामी छौँ । सहकारीको रकम ठग्नेहरूमाथि कारबाही गर्नको लागि त्यो कारबाहीलाई अझ प्रभावकारी बनाउनको लागि र बचतकर्ताहरूको बचत फिर्ता गर्नको लागि नेपालमा रहेका सहकारी सम्बन्धी कानुनहरूले राम्रोसँग काम गर्न नसकेको हुनाले, प्रभावकारी नियमन नभएकाले सहकारीको नियमन गर्न प्रभावकारी, शक्ति सम्पन्न प्राधिकरण गठन गर्ने र त्यसले सहकारी क्षेत्र व्यवस्थित गर्ने काम गर्ने काममा हामी छौँ । सहकारी संरक्षण कोषको स्थापनाका लागि हामी लागेका छौँ । ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ । ६ हजार बचतकर्ताको बचत अहिलेसम्म सम्पूर्ण रुपमा फिर्ता गरिसकेका छौँ । ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरेका छौँ । बाँकी २ हजारको छानबिनको क्रममा छ । र उनीहरूको ५० प्रतिशत रकम फिर्ता गरेका छौँ ।’

मन्त्री गुरुङले मुलुकको सुशासन कायम गर्न, मुलुकमा आर्थिक समृद्धिमा योगदान पुर्याउनको लागि सरकारले काम गरिरहेको बताए । दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टीको मुख्य शत्रु रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *