रास्वपाले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिवार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकमा सरकारले हालै अध्यादेश मार्फत् ल्याएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल गरिएको छ ।
बैठकले पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीस्य सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने विषयमा छलफल भएको छ ।
कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ । सो अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने समेत छलफल गरिएको छ ।
बैठकमा पौष १८ गते दिवंगत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ। पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराएका थिए ।
पार्टीको प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको बैठकमा उनीहरूबाट हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन समेत पेश गरिएको छ । बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव सिकाई र चुनौतिहरूका सम्बन्धमा छलफल गरिएको छ । केन्द्रिय समिति बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।