सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गरिदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिममा सहभागी हुन आह्वान गरेको छ ।
‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागिएको हो ।
तालिका माध्यमबाट क्षमता विकास गराएर शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको कामपाको सहरी योजना आयोगका सदस्य एवं इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको उनले बताए ।
झाका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको बताउँदै यसको नतिजा विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र र व्यावहारिक सीपमा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम दिइने योजना आयोगका सदस्य झाले जानकारी दिए । उनका अनुसार पुस २३ देखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान, अर्थशास्त्रलगायत विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।
एसइई लक्षित सिकाइमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुने कामपाको सहरी योजना आयोगले जनाएको छ । पुस २३ देखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ ।
यही पुस २४ देखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमसँग सम्बन्धित सम्पर्क (फोकल) शिक्षकहरूका तालिम हुनेछन् ।
पाठ्यक्रममा सहभागितामूलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन, प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुने योजना आयोगका इञ्जिनियर झाले बताए ।
आगामी माघ ५ देखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र ‘क्यारियर गाइड म्यापिङ’ तालिम हुनेछ । माघ २ देखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछन् ।
रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ देखि माघ ८ गतेसम्म हुनेछ । सामुदायिक विद्यालयमा यही पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म रहनेछ ।
यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार पढाइमा असर नहुने गरी खेलकुदका कार्यक्रम पनि हुने कामपाको सहरी योजना आयोगले जनाएको छ ।