१९ वर्ष मुनिको महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । माघ पहिलो साताबाट मलेसियामा सुरु हुने यु १९ महिला विश्व कपका लागि शनिवार नेपाली टोलीको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते अर्थात जनवरी १८ तारिखबाट यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० अर्थात फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागीता हो । एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको हो ।
कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालका अलावा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।
विश्व कपको समूह ‘ए’ मा साबिक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । समूह चरणको खेलमा शीर्ष तीनमा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ ।
सुपर सिक्सका दुई समूह हुनेछन् । ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुई सेमिफाइनलका विजेताबीच फेब्रुअरी २ अर्थात माघ २० गते फाइनल खेल रहेको छ । नेपालको अन्तिम टोली गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
नेपाली महिला टोलीमा कप्तान पूजा महतो सहित सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक छन् । त्यस्तै रिया शर्मा, अलिशा कुमारी यादव, सिमाना केसी, अनु कडायत,ज्योत्सिका मरासिनी, रचना चौधरी र कुसुम गोदार छन् ।