सर्वेन्द्र खनालले गरे एमाले छाडेको घोषणा
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै एमाले छाडेको घोषणा गरेका हुन् ।
आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको उनले बताएका छन् । ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन,’ उनले भनेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’
खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि ६ असोज २०७९ मा उनी औपचारिक रुपमै एमाले प्रवेश गरे । गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए ।