मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश, गर्यो विविध कार्यक्रम आयोजना (तस्बिरहरु)
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले शुक्रबार देशभरि विविध कार्यक्रमहरू आयोजना गरेको छ ।
बैंकले काठमाडौंको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयका साथै क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसबाट ६११ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।
सोही अवसरमा वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच ‘आर्ट फर अर्थ, कम्ब्याटिङ क्लाइमेट चेन्ज’ शीर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको बैंकले जनाएको छ ।
प्रतियोगितमा कुल ४७६ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट चित्र कोर्न सफल जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको बैंकले जनाएको छ । यसैगरी हरेक क्षेत्रीय कार्यालयमा उत्कृष्ट चित्र कोर्न सफल विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसै गरी बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचना तथा समाचार प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ ले सम्मान गरेको जनाएको छ । सम्मानित हुनेमा सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडं) र माधवप्रसाद अर्याल (पाल्पा) रहेका छन् । उनीहरूलाई क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
सातै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, क्याम्पसहरूमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण लगायत कार्य गरेको बैंकले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीलाई सम्मान समेत गरिएको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेको कार्यक्रममा सञ्चालक उमेशकुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए ।