भीम रावलबारे एमाले नेताहरु– निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया
काठमाडौं । नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् ।
आईतवार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनिहरुले यस्तो बताएका हुन् । केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए ।
उनकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो । ‘तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो । स्पष्टिकरण सोध्दा दिनु भएन । उहाँले आफूलाई नै निस्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो’ उनले भने ।
यस्तै सांसद योगेश भट्टराईले उनलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताए ।
उनले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उनि एमालेबाट राजिखुशी निस्किएको स्पष्ट भएको बताए । ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ,’उनले भने ‘यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’
पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उनको भनाइ छ ।