एमालेको लोकप्रियता क्षीण पार्न विरोधीहरु सक्रिय : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका बताएका छन् ।

आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताए ।

एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरे ।

“हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ”, अध्यक्ष ओलीले भने “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *