नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।
मन्त्रालयमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ पाइपलाइन बिच्छ्याइएका ठाउँमा चाँडै मेलम्चीको पानी बितरण गरिने बताए ।
मन्त्री यादवले भने,“पाइपलाइन वितरणको कार्य सकिएर परीक्षणको काम हुँदैछ ।” एक महिलाभित्र काठमाडौं उपत्यकाभित्र नयाँ पाइपलाइन विस्तार गरिएको क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने उनले दाबी गरे । पाइपलाइनबाट भइरहेको पानी चुहावट रोक्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री यादवले बताए ।
“सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइप भत्काइएका र फुटाइएका छन् । सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ”, उनले भने ।