हराएको एक सातापछि किशोर-किशोरी जंगलमा मृत फेला

दैलेख । दैलेखमा एक सातादेखि घरबाट भागेका किशोर-किशोरी मृत भेटिएका छन् । पुस १३ गते शनिबार हराएका उनीहरु आइतबार जंगलमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपालिका-४ मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन् । उनीहरु सोही गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालय मन्घरमा पढ्थे । मानसिंह कक्षा १० मा पढ्थे भने शर्मिला कक्षा ९ अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले उनीहरू अघिल्लो शनिबार (पुष १३ गते) घरबाट हराएको जानकारी प्रहरीलाई आएको बताए । ‘उनीहरु हराएको खबर आएको दिनदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । खोजी गर्दै जाने क्रममा घरभन्दा केही टाढा पर्ने तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले दुईबीच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न अनुमति नदिएको हो कि भन्ने अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनीहरु एउटै डोरीमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरुले आत्महत्या गरेको आशंका गरिएको छ । ती किशोर–किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *