पोखरा त साँच्चिकैको पोखरा नै रै’छ (तस्बिरहरु)
काठमाडौं । ‘पोखरा त साँच्चिकैको पोखरा नै रै’छ’ यो गीत प्रेमप्रकाश मल्लले रचना गरेका हुन् । मल्लले रचना गरेको गीतजस्तै छ पोखरा पनि । यो गीतले भने जस्तै पोखराका मनोरम दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउँछ ।
पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो । आफैँमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउछाउमा देखिने मनोरम दृश्यहरूले गरेका छन् । पोखराको फेवाताल र पोखराबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णसहितको हिमशृङ्खलाले पोखरालाई थप मनोरम बनाएको छ ।
पोखरा पर्यटकीय मात्रै होइन धार्मिक स्थल पनि हो । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । यहाँ दिनहुँ हजारौं भक्तजनहरू पूजा आराधना गर्छन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटक स्तरका धेरै जसो होटलहरु पनि पोखराको लेक साइडमै रहेका छन् । जहाँबाट पोखराको रातिको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
लेक साइटमा रहेका होटलहरु पनि झिलिमिली बत्तीहरूले सजाइएको हुन्छ । जसले गर्दा होटलहरु आकर्षक देखिन्छन् ।
बेलुकाको समयमा पनि सुन्दर दृश्य देखिने भएकोले लेक साइटमा धेरै मानिसहरूको भिड लाग्ने गर्छ । लेक साइटबाट देखिने डाँडाहरू बेलुकाको समय झिलिमिली देखिन्छ । जसको लाइट फेवाताल सम्म टल्किएको देखिन्छ ।
धेरै मानिसहरु रातिको समयमा पनि घुम्न आउने भएकाले त्यहाँका साना देखि ठुला व्यवसायीहरू पनि राति सम्म बस्ने गर्दछन् ।