सहकारीहरूले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी : सहकारी मन्त्री
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताए ।
सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुसरण गरेर अघि बढ्न जरुरी रहेको बताए । ‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौँ भने कसैको भ्रमले केही गर्दैन । अहिले सहकारीहरू सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो,’उनले भने‘किनभने हामीले सहकारीमा बचत जम्मा गरेका हुन्छौँ, त्यही बचत परिचालन गरेका हुन्छौँ । त्यही बचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’
उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।