कुनै पनि गुटबन्दीहरू पार्टीले सहन नहुने एमाले नेताहरूको मत
काठमाडौं । नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको बताए ।
बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अधिकांश केन्द्रिय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए ।
उनका अनुसार पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरु भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएको बताए ।
उनले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रश्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरु देखिएको उल्लेख गर्दै यसका यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको बताए । ‘बैठकमा आजपनि पार्टी अध्यक्ष्ज्युले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ । अहिलेसम्म ५६ जना नेताहरुले आफ्नो राय राख्नुभएको छ । मुलतः सरकारको प्रभावकारितार पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ । दोस्रो कुरा, पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कँही पनि गुटगत आशयका गतिविधिहरु भएभने त्यसलाई पार्टीले निगरानीमा राख्नुपर्छ । पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनैपनि मत भिन्नता छैन’ उनले भने ।
बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सुुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभएको उनको भनाइ छ ।