वृद्धाश्रम होइन भक्तपुर आदर निकेतन (भिडिओ)
काठमाडौँ । भक्तपुर च्यामासिंह वडा नं. ९ मा रहेको भक्तपुर आदर निकेतन विगत २ वर्षदेखि सञ्चालनमा रहेको छ । भक्तपुर आदर निकेतन ‘डे केयर’ को रुपमा आमा बुबाको सेवा गर्ने संस्था हो । धेरै जनाले यसलाई वृद्धाश्रम भनेर पनि बुझ्दै आएका छन् ।
यो स्वाभाविक पनि हो, किनभने यसअघि हामीले आमा बुबाको सेवा गर्ने संस्थाको रुपमा वृद्धाश्रमलाई मात्र चिन्थ्यौँ । यद्यपि यी दुईबिच केही समानता भएपनि ठुलो भिन्नता रहको पाइन्छ ।
यहाँ साथीभाइसँगको रमाइलो वातावरणमा खानपानको समेत राम्रो व्यवस्था हुँदा जेष्ठ नागरिकहरूको स्वास्थ्यमा पनि सुधार आउने भक्तपुर आदर निकेतन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसी बताउँछन् । उनले सोही कारणले भक्तपुर आदर निकेतनमा अहिले सबैको आकर्षण बढ्दै गएको बताए ।
उनले भने ‘यहाँ आमाबुबाहरू बिहान आएर बेलुका फर्कनु हुन्छ । यसले गर्दा उहाँहरू दिउँसो एकान्तमा बस्नु पर्ने बाध्यता हुदैँन् ।’
कुसीले व्यापारिकरणले गर्दा बाच्नको निम्ति काम नगरी खानै नपाउने अवस्था आइसकेको भन्दै दिउँसो घरमा छोराछोरी, नाति नातिनीहरू कोही पनि नहुँदा आमा बुबा एक्लै हुने गरेको बताए ।
घरमा बुबाआमालाई पानी, खाना र औषधी खुवाउने व्यक्तिसमेत नहुने भन्दै त्यस्ता अभिभावकका लागि आदर निकेतन नितान्त आवश्यक हुने उनले बताए ।
उनका अनुसार आदर निकेतनमा बिहान अभिभावकहरू आउने बित्तिकै चिया बिस्कुटले स्वागत गरिन्छ, दिउँसो खाजा र बेलुका छुट्ने बेलामा पनि चिया खुवाइन्छ ।
उनले भने ‘यहाँ उहाँहरूले लागि हप्तै पिच्छे खानेकुरा फरक फरक हुन्छ । महिनाको एकपटक मासु हुन्छ । कहिले रोटी, कहिले खिर पकाउँछौँ । धेरै प्रकारका हुन्छन् ।’
उनले अभिभावकहरूलाई अपच हुने खाना खुवाउन नहुने भन्दै त्यसमा आफूहरूले विशेष ध्यान दिइने बताए । उनले जेष्ठ नागरिकहरूको स्वास्थ्य, सरसफाइ र खानामा विशेष ध्यान दिने बताए ।
जेष्ठ अभिभावकहरू दिउँसो आफै भजन गाउने, बाजा बजाउने, टेलिभिजनमा नेवारी नाटक र गीतहरू हेरेर समय बिताउने गरेका छन् ।
‘कहिलेकाहीँ उहाँहरू आफैले पनि हामी महाभारत हेर्छौँ, रामायण हेर्छौँ भन्नुहुन्छ ।’ उनले भने ‘ उहाँहरूले आफूले जानेको सिप पनि प्रयोग गर्नुहुन्छ । कसैले परालबाट सुकुल बुन्ने, कसैले बत्ती काट्ने पनि गर्नुहुन्छ ।’
उनले धार्मिक कुराहरू देखाएर उहाँहरूलाई मनोरञ्जन गराउने गरेको जानकारी दिए ।
भक्तपुर आदर निकेतनका बा–आमाले बनाएका सामानहरू कहाँ उपयोग हुन्छ ?
भक्तपुर आदर निकेतनका सञ्चालक समितिका अध्यक्ष कुसीका अनुसार १ वर्ष अगाडि काठमाडौँको एजिङ नेपाल नामक संस्थाले जेष्ठ आमा–बा ले बनाएका सामान प्रमोट गर्ने भनेर एग्जीबिशनको आयोजना गरेको थियो ।
उक्त एग्जीबिशनमा भक्तपुर आदर निकेतनका बा–आमाले बताएका सामानहरू पनि राखियो । त्यसबेला थुप्रै सामानहरू बिक्री भएको उनले सुनाए ।
त्यस्तै भक्तपुर महोत्सवमा पनि सामानहरू बिक्रीका लागि राखेको तर कोही पनि किन्न नआएको उनले गुनासो गरे ।
उनी भन्छन् ‘तर हामीले प्रयास गरिरहेका छौँ ।’
भक्तपुर आदर निकेतनमा स्वास्थ्य परीक्षणको सुविधा
अध्यक्ष कुसीले दिउँसो निकेतनमा हुँदा बा–आमाको स्वास्थ्यमा समस्या देखिएमा नजिकै ख्वप अस्पतालमा लगिने जानकारी दिए ।
उनले त्यहाँ भएका बा–आमाको स्वास्थ्य उपचारका लागि ख्वप अस्पतालसँग कुराकानी भएको सुनाए । उनले भक्तपुरनगरको हरेक वडामा घरेलु नर्सिङ सेवा सुविधा रहेको जानकारी दिए । सोही सेवा मार्फत हप्ताको एक पटक उहाँहरूको सुगर, प्रेसर जाँच गरिने उनले बताए ।
उनले भने ‘महिनाको एकपटक डाक्टर पनि पठाउनु हुन्छ । कहिलेकाहीँ अकस्मात् भएमा हामी आफैँ पनि अस्पताल पुर्याउछौँ ।’
भक्तपुर आदर निकेतनबारे समाजको प्रतिक्रिया
अध्यक्ष कुसीले सुरुमा आदर निकेतन सञ्चालन गर्दा आमा बुबालाई छोरा छोरीबाट टाढा राख्ने पाप काम गर्नुहुदैन् भन्ने प्रतिक्रिया आफूहरूले पाएको बताए ।
उनले बिहान बेलुका आमा–बा छोराछोरीसँगै हुने र घरमा कोही नभएको दिउँसोको समयमा मात्र आदर निकेतन पठाउने हो भनेर सम्झाए पछि मात्रै परिवारहरू आफ्ना अभिभावक पठाउन तयार भएको बताए ।
उनले भने ‘सुरुसुरुमा त परिवारहरूले आफ्ना बुबा–आमालाई यहाँ पठाउन हिचकिचाउनु हुन्थ्यो, समाजले यहाँ आउने बाबुआमाका छोरा छोरीलाई आमा–बाउ पाल्न नसक्ने भनेको पायौँ तर अहिले चैँ छैन ।’
उनले अहिले अभिभावकहरू त्यहाँ गएर खुसी भएको बताए । उनले समाजको हरेक ठाउँमा यो हुनुपर्छ भन्नेखालका प्रतिक्रियाहरू पाएको बताए ।
उनले कतिपय साथीहरूले निकेतनमा यातायातको व्यवस्था गर्न पनि सुझावहरू दिएको बताए ।
कसरी सञ्चालनमा आयो भक्तपुर आदर निकेतन ?
भक्तपुर आदर निकेतनको जग्गा र भवन दुवै भक्तपुर बचत तथा ॠण सहकारी संस्थाको हो । सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सेवाका लागि निकेतन सञ्चालन गरेको कुसीले बताए ।
उनले भने ‘१० वर्षसम्म निःशुल्क चलाउने भनेर हामीले सहकारीसँग सम्झौता गरेका छौँ ।’
उनले यस संस्थालाई जिल्ला प्रशासन कार्यालय, समाज कल्याण शाखामा दर्ता गरेर वि.सं २०७९ साल साउन १० गतेबाट सञ्चालनमा ल्याएको बताए ।
उनले यस संस्थालाई पहिल्यै सञ्चालनमा ल्याउन विभिन्न जमर्को गरेपनि, योजना प्राविधिक रुपमा प्रशासनमा पुगेपछि चाहिँ सहकारी संस्थाले त्यसो गर्न नमिल्ने भनेर थाहा पाए ।
‘यदि गर्ने नै हो भने छुट्टै निकायमा दर्ता गर्नुपर्ने’ भनेर जिल्ला प्रशासनले भनेपछि उनकै नेतृत्वमा संस्था दर्ता गरेर सञ्चालन गरिएको अध्यक्ष कुसीले बताए ।
उनले सुरुमा ४ जना मात्र हुँदा घरघरमा गएर परिवारसँग अभिभावक पठाइदिन भनी कन्भिन्स गरेको विगतलाई सम्झे ।
उनले भने ‘एउटा घरमा जाँदा त, यहाँको सबैकुरा कुरा सुनाइसकेपछि एउटा आमा हामीसँग ४/५ दिनसम्म बोल्दै बोल्नु भएन । ठुस्स परेर बस्नु भयो, अहिले चैँ खुसी भएर आइरहनु भाको छ ।’
कति हो, भक्तपुर आदर निकेतनको सेवा शुल्क ?
भक्तपुर आदर निकेतनमा आधिकारिक दर्ता भएका ३५ जना अभिभावकहरू हुनुहुन्छ । तर स्वास्थ्यको कारणले नियमित उपस्थित हुने अभिभावकहरू २७/२८ जना भएको अध्यक्ष कुसीले बताए ।
उनका अनुसार हाल निकेतनमा आउने अभिभावकहरू स्थानीयहरू मात्र छन् । उनले सहकारीको सदस्य नभएका परिवारहरूलाई पनि सेवा दिइरहेको जानकारी दिए ।
सुरुमा निःशुल्क सञ्चालन गर्ने भनेर ३,४ महिना निशूल्क पनि सञ्चालन गरेको उनले बताए ।
तर अभिभावकहरू आफैले ‘हामी खान नपाउने, गरिब परिवारको चैँ होइन बाबु, हामीलाई कसैको सित्तैमा खान अप्ठ्यारो हुन्छ, अलिअलि भएपनि लिनु’ भनेर अनुरोध गर्नुभएपछि अहिले महिनाको १२ सय ५० रुपियाँ शुल्क लिने गरेको उनले सुनाए ।
सरकारसँग भक्तपुर आदर निकेतनको गुनासो
हाल भक्तपुर आदर निकेतनको आफ्नै पूर्वाधार छैन । यी सबै भक्तपुर बचत तथा ॠण सहकारीको आफ्नै सम्पत्ति हुन् ।
अध्यक्ष कुसीले अगाडीका वर्षहरूमा समाज कल्याण परिषद्को विभिन्न ठाउँमा सरकारले अनुदानहरू दिएको भन्दै भक्तपुर आदर निकेतनले भने हालसम्म सरकारबाट कुनै ठोस सहयोग प्राप्त नगरेको गुनासो गरे ।
उनले भने ‘अहिले सहकारीको पनि स्थिति पनि राम्रो छैन । अस्ति भरखर सरकारले जुन ऐन बनायो । त्यो ऐनले सहकारी चल्ने सम्भावना न्यून छ ।’
गत पुस ९ गते मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश अनुसार अब एउटा जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थाले १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाउने सीमा तोकेको थियो ।
सोही विषयलाई उल्लेख गर्दै उनले भरखरै भएका सहकारीहरू पनि डुब्ने अवस्थामा रहको दु:खेसो पोखे । उनले सहकारीको नाफाबाट केही रकम छुट्याएर निकेतन सञ्चालन गरिएको हुँदा हुँदा भोली सरकारले ल्याएको अध्यादेशले सहकारी र निकेतनको भविष्य के हुन्छ ? भनेर अनुमान गर्न नसकिने बताए ।
उनले अबको योजना अभिभावकहरूलाई व्यायाम गराउने रहेको बताए । उनले बजेटले गर्दा त्यतातिर ध्यान दिन नसकेकाको गुनासो पोखे ।
उनले हालसम्म नगरपालिकासँग पनि कुनै आर्थिक सहयोग नमागेको बताए । उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले आफ्नो दक्षता अनुसारको सहयोग गर्न आह्वान गरे ।
अभिभावक भर्नाका चरणहरू
भक्तपुर आदर निकेतन बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला रहन्छ ।
यस संस्थामा आफ्ना अभिभावकलाई भर्ना गर्नका लागि सर्वप्रथम दर्ता फारम भर्नुपर्ने हुन्छ । उक्त फारममा परिवारका सबै जानकारी, सम्पर्क नम्बर र उहाँहरूको रोग के हो ?, अनि यहाँ आउनुको कारणबारे सबै कुरा उल्लेख गर्नुपर्ने हुन्छ ।