श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाडौं । श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्याङ्क आदानप्रदान गर्ने सम्झौता भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबिच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
यस सम्भौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।
सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवद्र्धन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवद्र्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ ।
सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।