पूर्व मुख्यमन्त्री थापालाई सुविधा दिने निर्णयमा उच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रदेश सरकारले कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश सरकाले दिएको सुविधा गैर कानूनी रहेको भन्दै अधिवक्ताद्वय कर्ण बहादुर राई र प्रेम कुमार घिमिरेले आइतबार उच्च अदालत विराटनगरमा अन्तरिम आदेशयुक्त परमादेशसहितको माग गर्दै रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोमबार उक्त निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा बोलाउने निर्णय गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुँदै हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेपछि संसदीय दलका नेता थापालाई गाडी सुविधा दिने निर्णय भएको थियो । सो निर्णयपछि पूर्व मुख्यमन्त्री समेत रहेका थापाले सवारी सुविधा प्रयोग गर्दै आएका थिए ।

कोशी प्रदेश सरकारको गत असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले थालाई गाडी सुविधा दिने निर्णय गरेको थियषे । उनलाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो।

रिटमा थापालाई सुविधा दिने निर्णय गर्ने प्रदेश मन्त्रिपरिषद्सहित मुख्यमन्त्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कांग्रेस संसदीय दलका नेता थापा, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभाका सातै वटा समितिका सभापतिसहित १३ जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *