‘इपिसेन्टर नजिकका जिल्लामा अहिलेसम्म अप्रिय खबर छैन’

काठमाडौं । मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर गएको ७.१ म्याग्निट्यूडको भूकम्पको इपिसेन्टर नजिकका नेपाली जिल्लाहरुमा क्षति भए/नभएनको विवरण संकलन भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु नजिक पर्ने सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङमा विवरण संकलन भइरहेको हो ।

जिल्ला प्रशासनका उच्च अधिकारी र प्रहरीलाई बुझ्दा अहिलेसम्म ठूलाे क्षतिको विवरण आएको छैन । उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण संकलन भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । ‘हामीले प्रायः सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ,’ उनले भने, ‘हालसम्म ठूलो क्षतिको विवरण आएको छैन । प्रभावित हुन सक्ने क्षेत्रहरूमा हामी थप बुझ्दै छौँ ।’

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माले सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि मानवीय क्षतिको विवरण नआएको बताए । ‘कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ,’ उनले भने, ‘अहिलेसम्म अप्रिय घटना विवरण आएका छैनन् ।’

संखुवासभामा पनि क्षतिको विवरण प्राप्त भएको छैन  जहाँ-जहाँ सम्पर्क भएको छ, त्यहाँ क्षतिको विवरण छैन,’ प्रहरी प्रमुख (डिएसपी) दक्षकुमार बस्नेतले भने, ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन ।’

दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको प्रहरीका प्रवक्ता दाताराम अधिकारीले बताए । ताप्लेजुङमा पनि क्षतिको विवरण आएको छैन । यद्यपि सबै क्षेत्रमा टेलिफोन सम्पर्क भएकोले यकिन भन्न सकिने अवस्था भने छैन ।

यो पनि : नेपालमा उच्च जोखिम, कसरी जान्छ भूकम्प ?

मंगलबार बिहान ६:५० बजेतिर उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने ठानिएको जनाएको छ ।

केन्द्रले सामाजिक सञ्जालहरूमा लेखेको छ, ‘नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ । यसले नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ । जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना संकलन भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *