नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध जहिल्यै सौहार्दपूर्ण रहेको बताए ।

उनले भने,“नेपाल र चीनबीच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ । नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्वपूर्ण छ ।”

नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा कृषि तथा पर्यटनलगायत परियोजनाहरुमा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए । उनले भने,“हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो । उहाँहरु लगानी गर्न हौसिनुभएको छ ।” नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताए ।

कृषि तथा खाद्य सुरक्षाविज्ञ डा यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताए । उनले भने,“बिआरआईसँग सम्बन्धित लगानीले न्यून आय भएका देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ । नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ । राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *