काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ ।
छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।
मेयर बालेन साह पारिवारिक भ्रमणमा थाइल्यान्ड गएको समयमै शर्माले पनि पदबाट राजीनामा दिएको महानगरले जनाएको छ । मेयर साह मंगलबार स्वदेश फर्किसकेका छन् ।
शर्माले महानगर प्रमुख बालेनको सचिवालयमा राजीनामा दर्ता गराएको महानगरका सहायक प्रवक्ता दिपक काफ्लेले बताए । महानगर प्रमुख बालेन शाहको सचिवालयले भने संघ सरकारले तत्काल महानगरमा प्रशासकीय प्रमुखका रूपमा सहसचिव खटाउनुपर्ने बताएको छ ।