खबर दिनभर : कांग्रेससंगको सहकार्यले एमालेमा आशा,सीआईबीमा धनराज,भूकम्पमा ९५ जनाको मृत्यु
काँग्रेससँगको सहकार्यले सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गर्यो : एमाले
नेकपा (एमाले) को आठौँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
आईतवारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए । उनले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको समेत बताए ।
बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताए । उनकाअनुसार सत्तारुढ दलहरूबिचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ ।
उनले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धिहरू महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण गर्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरिएको समेत बताए ।
बैठकका निर्णयहरू सुनाउँदै उनले भने ‘नेकपा ९एमाले० को केन्द्रीय कमिटीको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै आजको बैठक समापनतर्फ गइसकेका छौं । मूलतः राजनीतिक, समसामयिक प्रस्तावहरूमा हामीले नेपाली काँग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरूबिचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस ऐतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ । दोस्रो, लामो सशस्त्र द्वन्द्व र लामो सङ्क्रमण काल, भूकम्प महामारीको बीचमा विगत तीन दशकमा हामीले प्राप्त गरेका उपलब्धिहरू महत्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरू विद्यमान छन् । यसलाई राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ संकल्प बन्नुपर्छ र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका निम्ति बलियो आत्मविश्वासका साथ हामी अगाडि बढ्नुपर्छ र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण गर्ने अभियानमा सहभागी हुन हामीले सबैलाई आह्वान गरेका छौं । त्यसैगरी, स्वदेशभित्र अवसर नदेखेर अथवा भएको अवसर सदुपयोग गर्न नसकेर युवाहरूको युवाहरूको प्रकाशनबारे नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भनेर हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग गर्ने निर्णय समेत भएको छ ।’
बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।
एक वर्षपछि नेकपा माओवादी केन्द्रले महाधिवेशन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।
तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए ।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गरे ।
छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन
बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।
छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष दाहालले घोषण गरे । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उनले स्पष्ट गरे ।
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिए ।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।
सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिएका थिए ।
देउवा र लिङ्देनबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच मंगलबार भेटवार्ता भएको छ ।
सभापति देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन बूढानीलकण्ठ पुगेका थिए ।
दुई नेताहरुबाीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगी गरेको आरोपमा सभापति लामिछानेको दुई दिन लगाएर थुनछेक बहस सकिएको हो ।
जिल्ला अदालत कास्कीमा गत मङ्गलवार देखी सभापति लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
गत शुक्रवारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो, जसमा दुई दिन लामिछानेको बहसमा लाग्यो ।
अदालतका स्रेस्तेदार राजन खनालले सभापति लामिछानेको तर्फबाट बहस सकिएको र अझै ४ जना आरोपीका वकिलको बहस बाँकी रहेको जानकारी दिए । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए ।
प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने छ ।
थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।
सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
२०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाऔँ : गगन थापा
नेपाली कांग्रेस महामन्त्री गगन थापाले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । उनले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताए ।
मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आम नागरिकहरूले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताए । महामन्त्री थापाले नेपाली काँग्रेस कानुनको शासन मान्ने बताए ।
धनराज गुरुङसंग सीआईबीले लियो दोस्रो पटक बयान
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङसंग दोस्रो पटक बयान लिएको छ ।
सीआईबीको टोलीले मंगलबार गुरुङमाथि मितेरी सहकारी ठगी प्रकरणबारे बयान लिएको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले गुरुङमाथि मितेरी सहकारी ठगी प्रकरणबारे दोस्रो पटक बयान लिइएको बताए । गुरुङमाथि साढे १२ बजेदेखी दिउँसो ५ बजेसम्म सीआईबीले सोधपुछ गरेको थियो ।
यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङमाथि बयान लिएको थियो । मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।
त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरु गरेको थियो । मितेरी सहकारी ठगी प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएपनि उनीहरु पक्राउ पर्न सकेका छैनन् ।
खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिनुभएको छ । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले खेलकुदमा दर्ता भएका संघहरुले देशको ऐन, कानून नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने बताउनु भयो । जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानून र नियमावलीअनुसार खेलकुद संघहरु चल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा संघहरु, खेलकुदमा दर्ता भएको संघहरु हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानून नमान्ने, अदालतको नियम, कानून नमान्ने । अनि त्यो संघहरु, त्यो संस्थाहरुलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन । हाम्रो देशको ऐन, कानून छ । नियमावली छ, साथै अदालतको निर्देशन छ । फैसला छ । त्यसअनुसार गर्दिन मैले आग्रह गर्न चाहन्छु । जसरी खेलकुदमा नियम, अनुशासनले अघि बढ्छ, त्यसरी नै संघहरु पनि अनुशासन र आफ्नो कर्तव्य पालन गरेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन् ।
अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची–४ को बुँदा– १४ मा स्पष्ट उल्लेख गरिएको छ ।
सोहीअनुरूप सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै महिला फुटबल, कराते र बिच भलिबलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
खेल संघले पुरस्कारका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रश्तावमा खेलाडीले पुरस्कार पाउने गरेका छन् ।
सरकारले साफ महिला फुटबल च्याम्पियनसिपमा रजत विजेता, १९ औं एशियाली खेलकुदमा पदक विजेता र काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेता कुल २८ खेलाडी, प्रशिक्षक र व्यवस्थापकले कुल एक करोड एक लाख ४० हजार नगद पुरस्कार प्रदान गरेको हो ।
सबै खेलाडीलाई कर कट्टा नगरी पुरस्कार प्रदान गरेको राखेपले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई पुरस्कृत गरे ।
सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेल संघका पदाधिकारी उपस्थित थिए ।
गत कात्तिक १४ गतेसम्म काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोली रजत पदकमा सिमित भएको थियो । सोही साफमा रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीले कुल ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
खेलाडीले जनही ३ लाख र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख पुरस्कार पाएका हुन् ।
उक्त टोलीमा कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर र अमिशा कार्की थिए ।
त्यस्तै टोलीको गोलकिपरद्वय उषा नाथ र अञ्जना राना मगर, अन्य सदस्य विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, निशा थोकर, सजनी ठोकर, दीपा शाही, सावित्रा भण्डारी र मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
सहायक प्रशिक्षक भगवती थापा र गोलकिपर प्रशिक्षक विनोद महर्जनले समान ६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिष्ट नविना श्रेष्ठले समान एक लाख २० हजार नगद पुरस्कार प्राप्त गरे ।
उक्त कार्यक्रममा कप्तान एन्जिला, पूजा, अमिशा, समीक्षा, रेखा, सजनी र सावित्रा उपस्थित थिएनन् । एञ्जिला, सावित्रा र रेखा विदेशी लिगमा खेलिरहेका छन् ।
सोही कार्यक्रममा गत असोजमा चीनको हाङझाउमा सम्पन्न २० औं एशियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता एरिका गुरुङले भने ६ लाख रुपैयाँ पाइन् । प्रशिक्षक कुशल श्रेष्ठ एक लाख ८० हजार नगद पुरस्कृत भए ।
एशियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी थिइन् । नेपालको महिला र पुरुष बिच भलिबल टोलीले गत साउनमा भूटानको थिम्पुमा सम्पन्न काभा बिच प्रतियोगितामा समान एक स्वर्ण र रजत पदक जितेका थिए ।
उक्त टोली चार खेलाडी र एक प्रशिक्षक गरी पाँच जनालाई कुल १९ लाख नगद पुरस्कार प्रदान गरिएको हो । स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनिषाकुमारी चौधरीले जनही पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।
रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान तीन लाख नगद पुरस्कार पाए । मान र दिलको पनि कार्यक्रममा उपस्थित थिएन । दुवै टोलीका मुख्य प्रशिक्षक रूपेशकुमार विष्टले तीन लाख नगद पुरस्कार पाए ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार खेलाडीलाई थप प्रोत्साहन गर्न महत्वपूर्ण रहेको र हाल खेलाडीले पाउने पुरस्कारमा कानूनी रूपले नै सुनिश्चित हुनु सुखद् पक्ष रहेको बताए ।
उनले खेलाडीले पाएका पुरस्कारमा कर छुट हुँदा थप खुशी प्राप्त भएको उल्लेख गर्दै खेलाडीले पाएको पुरस्कारलाई आकास्मिक लाभको रूपमा राख्न नहुने बताएका छन् ।
सदस्यसचिव घिसिङले खेलाडीले पाउने सफलता आकस्मिक लाभ नभएको र वर्षौंदेखि उनीहरूको मेहनतबाट प्राप्त हुने गरेकाले त्यसका लागि पाउने पुरस्कारलाई आकास्मिक लाभका रूपमा हेर्न नहुने उल्लेख गरे ।
घिसिङले हाल नेपाली खेलाडीले मिसन २०२६ को तयारी गरिरहेकाले यो पुरस्कारले थप हौसला प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।
दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।
बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।
मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।