भीम रावल धम्काएर खान सिपालु मान्छे : प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावल धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी निष्कासनमा परेका डा. रावलप्रति यस्तो टिप्पणी गरेका हुन् ।
एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै समापन गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग गरेका थिए । जवाफमा ओलीले कारबाही पुनर्विचार-पुनरावलोकन नहुने मात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए । उनले पिलो निचोरिँदैमा आफ्नो वजन नट्ने जवाफ दिए ।
उनले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाथि लिएर आएको तर उनी देखा समेत नपरेको गुनासो गरेका छन् । ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उनी देखा समेत परेनन्,’ ओलीले थपे, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो ।’ त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने उनको चेतावनी छ ।