पशुपतिमा गरियो धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ । धनुर्मास पूजा गर्नुअघि मंगलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

पुस महिनाभर सूर्य धनु राशिमा रहने भएकाले प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिँदै आएको छ । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ ।

परम्पराअनुसार राति १२ बजेदेखि बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ ।

बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनको भनाइ  छ। टाढाटाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिने कोषले जनाएको छ ।

उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास रहेको छ । विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *