भक्तपुर आदर निकेतनमा खुसी छन् जेष्ठ अभिभावक (भिडिओ)
काठमाडौँ । ७० वर्षीय कृष्णमाया प्रजापति ७ महिना अगाडि मात्र भक्तपुर आदर निकेतनमा भर्ना भएकी हुन् ।
उनले पहिले नै यसबारेमा सुनेकी थिइन् । तर कहाँ-कहाँ जानुपर्ने होला भनेर वास्ता गरिनन् । पछि उनले छोरा, बुहारीबाट भक्तपुर आदर निकेतनको बारेमा थाहा पाइन् । अहिले छोराले नै उनलाई निकेतनसम्म पुर्याउने र ल्याउने गरेका छन् ।
उनी बिहान १० बजे निकेतन पुग्छिन् र बेलुकी ५ बजे छोरासँगै घर फर्किन्छिन् । उनले पुरानो घरबाट आदर निकेतन अझ नजिक पर्ने सुनाइन् । अहिले भने अलि टाढा परेको उनको भनाई छ । उनी भन्छिन् ‘यहाँ छ भनेर छोराले थाहा पाएछ, त्यसपछि आमा जाने हो भनेर सोध्यो । त्यसपछि छोरा/बुहारी दुवै आएर यहाँ बुझ्नुभयो । अनि म आए ।’
उनले यहाँ साथीहरूसँग दुख सुखको रमाइलो कुराकानीहरू गर्ने बताइन् । उनले आदर निकेतनमा कृष्ण भगवानको दर्शन गर्ने, बत्ती काढ्ने, ढक्की बन्ने, सुकुल बुन्ने जस्ता आफूले सकेका कामहरू गर्ने गरेको सुनाइन् । उनले भनिन् ‘नसक्ने चैँ त्यसै बसिरहने । सक्नेले अलिअलि काम गर्ने ।’
उनले सुकुल, चकटी, ढक्की बनाउनका लागि घरैबाट पराल ल्याउने गरेकी छन् । उनले बनाएका अधिकांश सुकुल र चकटी निकेतनमै ओछ्याउन प्रयोग हुन्छन् । उनी पहिले आफू बलियो हुँदा खेतबारीमा काम गर्न जाने गरेको सुनाइन् । अहिले खुट्टा दुखेर हिँड्न नसक्ने भएकी उनी आदर निकेतनमा आएर दौतरीहरूसंग समय बिताउने गरेकी छन् ।
उनले आफू यहाँ एकदमै खुसी भएको भन्दै सञ्चालक प्रति धन्यवाद व्यक्त गरिन् । भनिन् ‘धेरै धेरै राम्रो छ, धेरै खुसी छ नानी यहाँ ।’ अझ जोडले भनिन् ‘धन्यवाद छ, सरलाई ।’
त्यस्तै अर्का स्थानीय तुलसीमाया लैवा पनि भक्तपुर आदर निकेतनका सदस्य हुन् । उनी दैनिकजसो निकेतनमै समय बिताउने हुनाले शनिवार एकदिन घरमा बस्दा न्यास्रो लाग्ने बताउँछिन् ।
उनले आदर निकेतनमा आएर दैतरीहरूसंग समय बिताउन पाउँदा खुसी लाग्ने बताइन् । उनले भनिन् ‘यहाँ आउँदा रमाइलो लाग्छ, साथीहरू सबैको मुख हेर्यो, हाँस्यो ।’
उनी बिहान १० बजे खाना खाएर छोराको बाइकमा चढेर भक्तपुर आदर निकेतन आइपुग्छिन् । उनले यहाँ साथीसँग बसेर धूप बाट्ने, टेलिभिजनमा भजन सुन्ने, नाच हेर्ने गरेको बताइन् । उनलाई ढाड दुख्ने, आँखा धमिलो हुने र सुगरको समस्या रहेको छ । यहाँ बस्दा आफूलाई एकदमै खुसी मिल्ने उनले बताइन् ।
८७ वर्षीय विष्णु भक्त ग्वाछा पनि भक्तपुर आदर निकेतनमा आउन थालेको १ वर्ष भयो । उनलाई अहिले मुटु र दमको समस्या रहेको छ । त्यसैले उनी खास्सै हिँडडुल गर्न सक्दैनन् । उनले आफ्नो वृद्धाभत्ताको पैसाले औषधि र आदर निकेतनको शुल्क तिर्ने गरेको बताए ।
उनले घरमा त्यत्तिकै बस्दा अल्छी लाग्ने भन्दै यहाँ आएदेखि मज्जा महसुस भएको सुनाए । उनले भने ‘पहिले घरमा त्यत्तिकै बस्थे, त्यही सुत्ने, बाहिरफेर हेर्ने त्यत्तिमात्र हो । पहिले अल्छी लाग्थ्यो, यहाँ आएदेखि मज्जा आएको छ ।’
उनलाई साँझ साढे ४ बजे छोराले त्यही लिन जाने गरेका छन् । उनी अहिले कान्छा छोरासँगै बस्दै आएका छन् । उनको परिवारमा श्रीमतीसहित, बुहारी, छोरा र नाति छन् ।
हाल निकेतनमा आधिकारिक दर्ता भएका ३५ जना अभिभावकहरू छन् । उनीहरू सबै भक्तपुरका स्थानीयहरू हुन् । विगत २ वर्षदेखि भक्तपुर च्यामासिंह वडा नं. ९ मा भक्तपुर आदर निकेतन सञ्चालनमा छ । भक्तपुर आदर निकेतन ‘डे केयर’ को रुपमा आमा बुबाको सेवा गर्ने संस्था हो ।
यो संस्था भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सेवाका लागि सञ्चालनमा ल्याइएको हो । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको यस कामलाई समाजको एउटा उदाहरणीय काम मान्न सकिन्छ । यहाँ आउने अभिभावकहरूको अनुहारमा खुसी प्रस्टै देख्न सकिन्छ ।
यहाँ आएर वृद्ध आमा-बाहरू आफ्ना दुख सुखका सम्झनाहरूलाई एकअर्कामा साटासाट गर्छन् । उनीहरू यहाँ आउँदा आफूलाई सुनिदिने कोही भएको महसुस गर्छन् । अहिले भक्तपुर आदर निकेतन वृद्ध आमा बुबाहरूको लागि एउटा खुसीको घर बनेको छ । यस्ता खुसी बाँड्ने घरहरू हाम्रा समाजमा धेरै आवश्यक देखिन्छ ।