२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् ।
बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन् ।
उनले एमाले केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राखेको भन्दै असहमति जनाए । उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने बताए ।
संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे । सरकारमा रहेका दुई राजनीतिक दलहरूले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे ।
उनले भने ‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा रु के हो त पार्टीका साथीहरूको अपेक्षा रु गाउँगाउँको अपेक्षा के हो ? भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सीमित गरौँला त्यो ठूलो कुरा होइन । तर हामीले संविधान संशोधन गर्दैगर्दा यी विषयहरूको संशोधन गर्नु नै छ । समानुपातिकलाई व्यवस्थापन गर्नेकुरा त गर्नु नै छ । तर सबैभन्दा गहन रुपमा छलफल गर्नुपर्ने विषय अबको संविधान संशोधनपछाडि यो देशले ७० वर्षमा एक पटक लगातार पाँच वर्ष एउटै प्रधानमन्त्रीले शासन नगरेको देशमा पाँच वर्ष निरन्तर टिक्ने प्रधानमन्त्री बनाउने भन्ने पद्धतिको खोजी गर्नुपर्ने कर्तव्य छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदाहुँदै भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु । सात बुँदे समझदारी गर्दैगर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्युले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।’
महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भएपनि काँग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीको अध्यक्ष र काँग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे ।