मधेस सरकारद्वारा शहीद परिवारहरूको बीमा कार्यक्रम सुरु
काठमाडौँ । मधेस प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पुस ९ गतेबाट बीमा कार्यक्रम लागू भएको जानकारी बुधवार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।
मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्नेछ ।