कसैको वैशाखी नटेकेर स्ववियु निर्वाचनमा उत्रनुस् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखी नटेकेर एकताबद्ध भएर मैदानमा उत्रिन आग्रह गरेका छन् ।

आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा हुने स्ववियु निर्वाचनका सन्दर्भमा  बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले एमालेको केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष ओलीले ढुक्कका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामना समेत दिए । नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी नेकपा एमाले भएको स्पष्ट पारे ।

अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको बताए । उनले मार्छौँ र सिध्याउँछौँ भन्नेहरुलाई आफूहरुले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताए ।

“खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ,”, अध्यक्ष ओलीले भने, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताए ।

कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाल लगायत सहभागि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *