सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिल्यौँ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।
मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए ।
युनाइटेड क्लब पोखराद्वारा आयोजित १३ औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए । उनले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको समेत बताए ।
पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको मन्त्री गुरुङले बताए । उनले भने,“पर्यटकीय राजधानीको रुपमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थनीय र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।”
गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न जरुरी भएको बताए ।
पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उहाँले यहाँका तालहरुको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताए ।
पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिए । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभाहललगायत पूर्वाधार बनाउनुपर्ने उनले बताए ।
सांसद मनबहादुर गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिक रुपमा विकस गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवद्र्धन गर्न जरुरी भएको बताए । ‘पर्यटकीय राजधानी भएकाको कला संस्कृतिको विकासमा पनि ध्यान दिन जरुरी छ, उनले भने ।
सासंद दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवद्र्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।
गण्डकी प्रदेशलाई कृषि र पर्यटनको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । बाह्र दिनसम्म चल्ने उक्त महोत्सवमा दुई सय ५८ कक्ष रहेका छन् ।