रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । अदालतबाट छुटेपछि बिहीबार प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।
लामिछानेसँगै मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, आरती गुरूङ र मीना गुरूङ पनि क्रमशः विभिन्न धरौटी रकम बुझाई रिहा भएका छन् । तर, प्रतिवादी लीला पछाईँ भने बिहीबार धरौटी रकम बुझाउन नसक्दा हिरासतमै रहेका छन् ।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, पछाईँलाई ३७ लाख, खनाललाई १५ लाख, मीना र आरती गुरूङलाई पाँच-पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटी तोकेको थियो ।
यसअघि, पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध सहकारी रकम अपचलनको आरोपमा मुद्दा दायर गरेको थियो । अहिलेसम्म सूर्यदर्शन सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा ६३ जनाविरूद्ध मुद्दा दर्ता भइसकेको छ ।