बिचौलियाको मारमा टोखाका चाकु व्यवसायी, सरकारले सहयोग नगरेको गुनासो
काठमाडौं । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचिन शहर टोखा नेवार बस्ती हो ।
‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । वर्षौं पहिले त्यहाँ धेरै फाँटहरु थिए जहाँ उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो । टोखामा सामुहिक उखु खेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा विक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ ।
माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याई छ । शुरुशुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भएपनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरु बताउँछन् । चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्नसक्ने क्षमता विकास हुने विश्वास गरिन्छ । टोखामा चाकु बनाउन व्यवसायीहरु त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरुका लागि समाज नै गठन गरिएको छ ।
मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउँछन् । उनले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको बताए । बजारमा सख्खरको मूल्य बोरामा दुई÷तीन सय रुपैयाँले बढेको भएपनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उनको भनाई छ ।
उनी भन्छन्, ‘हामी चाकु सँगसँगै माघे संक्रान्तीका लागि चाहिने अन्य परिकार पनि बनाइरहेका छौं । जस्तो परिकारको अर्डर आयो त्यसैअनुसार बनाइरहेका छौं । यःमरी पूर्णिमामा विशेष गरी मसलाबिनाको चाकु नै खाने परम्परा छ । कोही मसलेदार चाकुहरु खान आउनुहुन्छ । अहिले सख्खरको मूल्य चाहीँ बोरामा दुई,तीन सय मूल्यले बढेको छ । तर हामीले चाकु पुरानै मूल्यमा दिइरहेका छौं । हामीले टोखा परम्परागत चाकु संरक्षण समाजबाट मूल्य तोक्ने भनेर मिटिङ बसेका थियौं । तर विचौलियाहरुले गर्दा हामीलाई नै समस्या पार्न खोज्यो । हामीसँगै ललितपुर र भक्तपुरमा पनि मंसिरदेखि नै चाकु बनाउनुहुन्छ । कामदार पनि धेरै राख्नुहुन्छ । चाकुलाई धेरै समय स्टक राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर विचौलियाहरुले रेट बिगार्ने काम भयो । जति चाकु बनाउनका लागि मेहेनत परिश्रम लाग्छ त्योअनुसारको नाफा छैन । हामीले घरसम्मै आउने ग्राहकलाई प्रतिकिलो चाकु १३५ रुपैयाँमा दिइरहेका छौं । तर त्यही चाकु बजारमा गइसकेपछि २०० रुपैयाँभन्दा माथि जाने सम्भावना छ ।’
टोखावासीले चाकु बनाउन थालेको वर्षौं भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । शुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गएपनि टोखाबासीले चाकु उत्पादन गर्ने पूर्खाको परम्परा भने छोडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ । टोखा चाकु प्रोडक्शनका सञ्चालक हंसराज श्रेष्ठले चाकु व्यवसाय शुरु तीन पुस्ता भएको सम्झिँदै भने, ‘हामीले चाकु व्यवसाय शुरु गरेको तीन पुस्ता भएको छ । बाजेले बनायो, बुवाले बनायो अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु । चाकुको व्यापार सिजनल व्यापार हो । सिजनमा चकाचक त भइहाल्छ नै । हामीलाई सिजनमा चाकुको माग पूर्ति गर्न धेरै नै गाह्रो छ । काम गर्नको लागि म्यान पावर पुगेको हुँदैन ।’
चाकु व्यवसायको पुस्तान्तरण हुँदै जाने उनको विश्वास छ । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन बिहान ४ बजेदेखि ११ बजेसम्म खट्ने गरेको उनले सुनाए । चाकुले चिसो हटाउन सहयोग गर्ने र सुत्केरी आमाका लागि समेत फाइदाजनक हुने विश्वास रहेको उनले बताए ।
चाकुलाई नेपाली चकलेटको रुपमा चिनिने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरु बताउँछन् । चाकु नेपाली चकलेटको रुपमा काठमाडौं उपत्याकामा मत्र नभई उपत्यका बाहिरका शहरहरुमा समेत माग बढेको र अमेरिका बेलायत लगायतका देशहरुबाट समेत माग आउने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । चाकुका लागि आवश्यक पर्ने सख्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकोले यसको गुणस्तरलाई नापेर ब्राण्डिङ गर्न तीन तहको सहकार समन्वयकारी भुमिका खेल्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।
चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगेको भएपनि अहिलेसम्म सरकारले भने केही सहयोग नगरेको व्यवसायहीहरुको गुनासो छ । आफ्नो तीन पुस्ताले चाकुको व्यवसाय गरेरै जीवन धानेको भएपनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्शनका सञ्चलाक हंसराज श्रेष्ठको दुखेसो छ ।
उनले भने, ‘पहिले टोखामै उखु उत्पादन गरिन्थ्यो । यहाँ नै त्यो उखु पकाउँथ्यो । अहिले उखु खेती त छैन । हामीले तराईबाट सख्खर ल्याएर बनाउने गर्छौं । हाम्रो बजार भाउ धेरै भइसक्यो एकनासकै छ । १०० देखि १४० सम्म विक्री गर्ने गरेका छौं । अहिलेसम्म सरकारी सहयोग छैन । स्थानीय सरकारले पनि हामीलाई त्यति सहयोग गरेको छैन । सरकारले हाम्रो लागि आवश्यक पर्ने सामानहरु सहुलियतमा व्यवस्थापन गरिदिनुप¥यो । हामीलाई बजार भाउ राम्रो दिनुप¥यो । हामीले टोखाको चाकु विदेश पठाउनका लागि पनि सरकारले हामीलाई स्वीकृति दिनुप¥यो । सिजनमा मात्रै प्रक्रिया शुरु हुन्छ । सिजन सकिएपछि काम अघि बढ्दैन ।’
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ ।