परनिर्भरता बढ्दै जानु दु:खद्,श्रम र सीपको सदुपयोग गरौँ : पूर्व राजा शाह [भिडिओ]
नेपाललाई सबैको शान्ती थलो बनाउनुपर्नेमा जोड
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सामर्थ्य जनशक्ति निरन्तर बाहिरिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुक्रवार पूर्व राजा शाहले भिडिओ सन्देश जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले भिडिओ सन्देशमा भनेका छन्,‘देश सबैको हो । हामी परनिर्भरता,पराधिनता,आत्मग्लानीको दिशातिर बढ्दै जानु दु:खद्, विडम्बना हो । हाम्रो श्रोत र साधन श्रम र सीप देशको विकासमा पूर्ण रुपमा उपयोग भएको छैन । हाम्रो सामर्थ्य जनशक्ति निरन्तर बाहिरिदै गएको छ । हामी आफ्नो सीप र श्रमको दुरुपयोग गरिरहेका छौँ ।’ उनले सुनको कमण्डल थापेर अरुसंग भिख मागेर आफ्नो श्रोत र सीपको दुरुपयोग गरिरहेको उनले बताए ।
देशभित्रको श्रम र सीपको सही सदुपयोग गर्न आवश्यक रहेको उनले बताए । पूर्व राजा शाहले नेपाल कसैको रण मैदान नभएको उल्लेख गर्दै सबैको शान्ती थलो बनाउनुपर्नेमा जोड दिए ।
आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास, शिक्षा र रोजगारीको सुनिश्चितासहितको स्वतन्त्रलाई मात्रै पूर्ण प्रजातन्त्र मान्न सकिने उनले बताए । प्रजातन्त्र आम मानिसको जीवन पद्धती भएको बताउँदै पूर्व राजा शाहले भने,‘नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा सिमित छ ।’
उनले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको मार्गदशर्नलाई आत्मसाथ गर्दै तदअनुरुप व्यवहार गर्न सकिए नेपाललाई अनन्त कालसम्म कसैको छायाले नभेट्ने विश्वास व्यक्त गरे । दिनप्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भूराजनीतिक परिस्थितीमा पृथ्वी विचारको सान्दर्भिकता बढेको उनले बताए ।
देशको प्रतिष्ठा उच्च राख्न,प्रगतिको पथमा अघि बढाउन तथा देशबासीलाई सुखी ,शान्त र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनले बताए ।