कुमारी बैंक र नेपाल क्लियरिङ हाउस बीच Alipay+ मार्फत NepalPay QR को अन्तर्देशीय भुक्तानी सहकार्य
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको साझेदारीमा नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि NepalPay QR मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवा मार्फत Alipay+प्रयोगकर्ताले कुमारी बैंकको NepalPay QR रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको जनाएको छ । यस सम्झौतासँगै, नेपालमा उपलब्ध NepalPay QR र यसको interoperable QR लाई Alipay+ नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तर्देशीय भुक्तानी गर्न सक्नेछन् ।
बैंकका अनुसार यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि NepalPay QR स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ ।
NepalPay QR मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै Alipay, AlipayHK, Tinaba, MPay, Touch’n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, KakaoPay, Naver Pay, Toss Pay र TrueMoney बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको बैंकले जनाएको छ ।