मुलुक विकासका लागि सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्याे : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा युवाहरू नेपाल बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताए । उनले युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरूबाट सचेत हुनुपर्ने बताए ।
उनले अधिकारको कुरा ठूलोठुलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताए ।
उनले भने ‘अब हामीहरूले या भएन, यसो भैदिए हुन्थ्यो भन्ने जुन तपाईँहरूको राय र सुझाव छ । त्यो सुझाव कार्यान्वयन गर्नेतिर नेपाल सरकार लाग्ने नै छ भन्नेकुरा विश्वास दिलाउन चाहन्छौं । खास गरेर अहिले एउटा न्यारेसन के छ भन्दाखेरि नेपालमा कोही युवाहरू बस्नै चाहँदैनन् भन्ने छ । यसरी युवाहरू नेपालमा बस्न चाहिरहेका छैनन् भनेर भाष्य निर्माण गर्नेहरूको त काम सकियो । तर यस समस्याको समाधान गर्नको लागि सबैले जिम्मेवार भएर गर्न सक्नुपर्यो नि । अधिकारको कुरा ठुलठुलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदाखेरि सबै पछिपछि हट्ने अनि कहाँबाट समाज अगाडि बढ्छ ? मुख्यकुरा के हो भन्दा अधिकारको कुरा सँगसँगै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’
मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ ।