सरकारले सूचना लुकाएको छैन : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले कुनै सूचना लुकाउनुपर्ने गरी काम नगरेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज यहाँ आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै जनता माझ पुर्याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्त्य हुने बताए ।
उनले प्रदेश सरकारले गरेका काम आमनागरिक सामु जस्ताको तस्तै सम्प्रेषण गर्न सूचना अधिकारीहरुको भूमिका उल्लेखनीय हुने बताए । उनले भने, “सरकारले गरेका सकारात्मक काम अझै बाहिर आउन सकेका छैनन् । जसका कारण सरकारले कामै नगरे जस्तो नागरिकमा अनुभूति हुने गर्छ । सूचना सम्प्रेषण गर्दा सरकारको उपलब्धि जनता बीचमा जान्छ । त्यसैले सूचना नलुकाइदिनुस् ।”
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरी समाजमा देखिएका विसङ्गति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको उनको भनाइ छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहाले लोकतन्त्रको संस्थागत विकास र सुशासन कायम गर्न सूचनाको हक पूर्ण कार्यान्वयन गर्न जरुरी रहेको बताए ।