पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताएका छन् ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताए । उनले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्व बढ्ने बताए ।

उनले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गरे । उनले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताए ।

उनले भने,‘हामी यो कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्नेकुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेशल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । त्यसले हाम्रो गण्डकी प्रदेशको,पर्यटन, उद्योग लगायत अरु क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ । यसले पर्यटनको विकास त छँदैछ । अरु क्षेत्रको विकास पनि हुन्छ । हामी एउटा निश्चित क्षेत्र भित्र छौँ । यो रेक्ट एंगल भित्र नै आर्थिक गतिविधि हुने हो । लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ एयरपोर्ट यि चार वटा इन्टरनेशनल एयरपोर्टभित्र त्यसको दायरा पनि त्यसको कम्पाउण्डभित्र पर्छ । यो भित्रको सबै चिज इकोनोमिक जोनको रुपमा डेभलप हुनसक्ने सम्भावना छ ।’

सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *