दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक

काठमाडौं । नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् ।

नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ ।

सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए । यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे । यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ ।

प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *