सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ ।
यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन् ।
यसमा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ ।
रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ ।
अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई सङ्केत गर्दछ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ ।
पोस्टरको माथि पट्टी ‘Been 6 years, still missing’ लेखाइले कुनै हराएको व्यक्तिको कथा वा अनुसन्धानको कथा समेटिएको अनुमान गर्न सकिन्छ ।
कलाकारको हातमा देखिने गितारले पात्रको रुचि र पोस्टरको पीँधमा देखिएको पुरानो बस भित्रबाट आइरहेको प्रकाशले थप रहस्य थपेको आभास हुन्छ । चलचित्रको शीर्षकमा प्रयोग भएका नेपाली अक्षर र रातो रङ्गको उपयोगले शीर्षकको गम्भीरता र रहस्य देखिएको छ ।
नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो चलचित्रमा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उ
नीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।
अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय चलचित्रमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । उनले चलचित्रको कथाबारे भनिन्, ‘अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु ।’
निर्माता लुइसराज महर्जनले विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो चलचित्र तयार गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए ।
सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् ।
चलचित्रको कथा आशिषराज महर्जनले तयार पारेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन् ।
छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् । सम्पादन आशिषराज महर्जनले गरेका छन्, र ध्वनि डिजाइन विकल प्रधानको रहेको छ । रङ्ग संयोजन राजेन्द्र मोक्तानको, प्रोडक्सन डिजाइन किशोर नेपालको, कस्ट्युम डिजाइन एलेक्स बसुकलाको, मेकअप दिपु पौडेलको रहेको छ ।
प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।