इक्यानको १९औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विशिष्ट अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापित संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन इक्यानको वार्षिक साधारणसभा मेरियट होटलमा आयोजना भएको थियो । उक्त साधारणसभाबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसी इक्यानका सल्लाहकारमा नियुक्त भएका छन् ।
वार्षिक साधारणसभा उद्घाटन र बन्दसत्र गरी दुई वटा सेसन भई सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक साधारणसभाको शुभकामना दिँदै सभामुख घिमिरे विद्यार्थीहरूले विदेश गएर पढ्ने भन्दा पनि पढाइलाई कमाइको माध्यम बनाउनु विडम्बना भएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले विद्यार्थीहरू पढ्ने भन्दा पनि शिक्षालाई जीविकोपार्जनको माध्यम बनाई बिदेसिँदा राज्यले विडम्बनापूर्ण स्थिति भोगिरहेको बताए । ‘शिक्षा आर्जन वैदेशिक रोजगारीको सहजताका लागि मात्र होइन, विदेशमा हामीले शिक्षा आर्जन गर्दा त्यो देशमा देखेका उन्नति र प्रगतिको कुराहरूलाई शिक्षाको रूपबाट लिन र हाम्रो देशको सन्दर्भमा कार्यान्वयन गर्ने योजनाहरू बनाउनु पनि हो,’ उनले भने ।
यसैगरी इक्यान अध्यक्ष शेषराज भट्टराईले संसारकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरूको भर्ना प्रक्रियामा साथी र सहयोगी बन्ने शैक्षिक परामर्श संस्थाहरूलाई सरकारी निकायले हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भई नसकेको बताए । अब बन्ने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई सकारात्मक रूपमा हेरिनुपर्ने विषयहरू पनि समेटिनु पर्ने माग भट्टराईले राखे ।
शिक्षाको बदलिँदो परिस्थितिमा वैदेशिक शिक्षामा सारथि बन्ने विभिन्न संघसंस्थाका लागि भिन्नै ऐन र नियमावली बन्न आवश्यक रहेको अध्यक्ष भट्टराईको धारणा छ ।
‘इक्यानले प्राविधिक शिक्षा आर्जन गर्नेका लागि कुन मुलुकका कुन विश्व विद्यालयमा गएर पढ्यो भने उक्त शिक्षा आर्जन गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिँदै आएको छ, त्यहाँको शिक्षा आर्जन गरिसकेपछि नेपालमा फर्किएर विद्यार्थीलाई यहाँकी केही गर्न सक्ने वातावरण मिलाउनु राज्यको पनि दाइत्व हो,’ अध्यक्ष भट्टराईले भने ।
यसैगरी कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले आगामी दिनमा इक्यानको सल्लाह अनुसार विदेशी विद्यार्थी भित्र्याउन सहजताका लागि आवश्यक नीति, कानुनका निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका शैक्षिक संस्थाहरूले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार सदैव अग्रसर रहने उनको भनाई छ ।
यसका साथै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र बरालले अब कुनै पनि शैक्षिक परामर्श र परामर्श व्यवसायीहरू उच्च शिक्षा ऐनदेखि त्रसित नहुन आग्रह गरेका छन् ।
ऐनले शैक्षिक क्षेत्रको विकासलाई मद्दत पुर्याउँन औँल्याउने त्यसको त्रास अब हटेको उनले बताए ।
इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डे, जिल्ला शासन कार्यालयका सहायक प्रशासन जिल्ला अधिकारी अनिल पौडेलको पनि इक्यानको वार्षिक साधारणसभामा सहभागिता रहेको थियो । त्यसैगरि कार्यक्रममा इक्यानका सल्लाहकारहरू, विभिन्न शैक्षिक परामर्श छाता संगठनका प्रतिनिधिहरू, कार्यसमितिका पदाधिकारी, इक्यानको जिल्ला शाखाका सदस्य तथा विभिन्न क्याम्पस र विश्वविद्यालयका प्रतिनिधिहरूको साधारणसभामा उपस्थिति रहेको थियो ।
