बस भाडामा उपत्यकामै लुटिन्छन् विद्यार्थी, हुँदैन कारबाही

काठमाडौँ । भक्तपुरको दुवाकोट निवासी लक्मी तामाङ सधैँ सार्वजनिक यातायात प्रयोग गर्छिन् । उनी दैनिक भक्तपुरको कमल विनायकबाट बिजुलीबजारसम्म सार्वजनिक बसमै यात्रा गर्छिन् । तर, सार्वजनिक यातायातको यात्रा उनका लागि सहज छैन ।

बिहान कलेज र दिउँसो जागिर गर्ने लक्मीलाई सार्वजनिक यातायातको भद्रगोल व्यवस्थापनले हैरानी दिएको छ । सार्वजनिक बसको पिडादायी यात्रा त छदैँछ, त्यसमाथि बस चालकहरूले मनपरी भाडा उठाउन थालेका छन् ।

उपत्यकाका सार्वजनिक यातायातहरूले बेलुकी ८ बजेपछि विद्यार्थीहरूलाई भाडा छुट दिँदैनन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई सरकारले नै छुटको व्यवस्था गरेको छ । तर, बस चालकहरूले अटेर गर्दै मनोमानी भाडा उठाइरहेका छन् ।

तामाङले पनि बेलुकीको समयमा भाडा छुटका लागि आफूले सधैँ सहचालकहरू संग विवाद गर्नुपरेको गुनासो गरिन् ।

उनले कार्यालयको काम सकेर बेलुकी ७ बजे भक्तपुर, कमल विनायकको बस चढ्ने गरेको बताइन् । तर उक्त रुटमा चल्ने बसहरूले विद्यार्थी कार्डमा भाडा छुट नदिने गरेको गुनासो गरिन् ।

बस सहचालकहरूले बेलुकी ८ बज्नासाथ विद्यार्थी परिचय पत्रको मान्यता दिँदैनन् । उनीहरूलाई विद्यार्थी परिचय पत्र देखाए पनि भाडामा छुट नदिने गरेको गुनासो तामाङको गुनासो छ ।

‘बेलुकी ८ बज्नासाथ सहचालकहरूले विद्यार्थी परिचय पत्रको मान्यता दिँदैनन्, सधैँ सहचालकसँग विवाद भइरहन्छ । ८ बजेपछि १० रुपैयाँ थपेर ३० रुपैयाँ भाडा तिर्नुपर्छ,’ उनले भनिन्, ‘८ बज्नुभन्दा अगाडी नै गन्तव्यमा आइपुग्दा २० मात्र तिर्नुपर्छ ।’

सार्वजनिक यातायातमा हैरानी खेप्ने तामाङ एक्ली होइनन् । उनी जस्तै थुप्रै विद्यार्थीहरू सार्वजनिक यातायातले दिएको हैरानीका कारण दिक्क छन् । दूर दराजबाट अध्ययन गर्न आएका विद्यार्थीसँग सार्वजनिक बसहरूले मनपरी भाडा असुल्दा आफूहरूलाई आर्थिक समस्या भइरहेको विद्यार्थीहरू गुनासो गर्छन् ।

सार्वजनिक यातायातहरूले उपत्यकामा मनपरी भाडा असुल गरिरहँदा नियमनकारी निकाय भने मौन छन् । स्थानीय सरकार, यातायात व्यवस्था विभाग लगायत नियमनकारी निकायहरु नै लुट धन्दालाई साथ दिइरहेका छन् ।

विद्यार्थीहरूले खेपिरहेको समस्याबारे यातायात व्यवस्था विभागले अन विज्ञता व्यक्त गर्यो । यातायात व्यवस्था विभागका निर्देशक गणेशमान सिंह राईले बस चलाक र सहचालकले भाडा छुट नदिएको विषयमा थाहा नभएको प्रतिक्रिया दिए ।

यद्यपि उनले ८ बजेपछि विद्यार्थी परिचयपत्रलाई मान्यता नदिने भन्ने नियम नरहेको बताए । निर्देशक राईले कानुनमा आठ बजे पछाडि विद्यार्थी नमान्ने वा स्टुडेन्ट कार्ड नचल्ने भन्ने नरहेको बताए । उनले विभागले सबै अधिकार प्रदेश अन्तर्गतका कार्यालयलाई दिइसकेकाले भाडा नियन्त्रणमा विभागको भूमिका नहुने बताए ।

‘८ बजे पछाडि कानुनी रुपमा विद्यार्थी होइन, विद्यार्थी परिचय पत्र नचल्ने भन्ने त छैन । त्यस्तो लिखित निर्णय पनि कतै भएको छैन,’उनले भने,‘हाम्रो विभागले पनि कहीँ निर्णय गरेको छ जस्तो त मलाई लाग्दैन । निर्णय गर्ने कुरा पनि भएको छैन ।’

कानुनलाई टेर्दैनन् बस चालक र सहचालक

काठमाडौंबाट भक्तपुरसम्म ख्वप भक्तपुर मिनिबस यातायातका सवारी साधनाले पनि दैनिक सयौँ यात्रु बोक्छन् । तर, ख्वप भक्तपुर मिनिबसका सवारीमा पनि विद्यार्थीले भाडा छुट नपाएको गुनासो गरिरहेका छन् । बसका चालक र सहचालकहरूले विद्यार्थीमाथि लुट मच्चाइरहेकोबारे ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिका कार्यालय प्रमुख शिवराम त्वानबासुले अन विज्ञता दर्साए ।

उनले महासङ्घबाट विद्यार्थीहरूका लागि भाडा छुट नदिने निर्णय नभएको र आफूहरूले पनि भाडा छुट नदिन नभनेको बताए । उनले हालसम्म महासंघले बेलुकी ८ बजेपछि विद्यार्थी परिचय पत्रले मान्यता नपाउने र भाडा छुट नहुने त्यस्तो कुनै निर्णय नगरेको स्पष्ट पारे ।

‘महासंघको जस्तो निर्देशन छ, त्यसरी नै हामी अगाडि बढ्छौँ । अहिले सम्म त्यस्तो निर्देशन भएको छैन । हामीले पनि अहिलेसम्म केही त्यस्तो निर्णय गरेका छैनौँ’ उनले भने ।

उनले महासङ्घमा भएको निर्णयको कार्यान्वयन गर्ने बताए । तर, अहिले ८ बजेपछि विद्यार्थी परिचयपत्रलाई मान्यता नदिने निर्णय नभएको बताए ।

उनले भने– ‘सरकारले बस भाडा तोकी दिइसकेको छ । महासङ्घबाट निर्णय भएर पत्राचार भइसकेपछि मात्र हामी कार्यान्वयन गर्छौँ ।’

विद्यार्थी सङ्गठनलाई चासो खै ?

विद्यार्थीको हकहितका लागि काम गरिरहेका विभिन्न विद्यार्थी सङ्गठनहरूले पनि विद्यार्थीलाई भाडा छुट नदिएको विषयलाई गम्भीर रूपमा लिएका छैनन् । उनीहरूले विद्यार्थीलाई भाडा छुटका लागि काम गरिरहेको बताए पनि सम्बन्धित निकायमा आवाज उठाउन नसक्दा विद्यार्थी थप मारमा परेका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले भाडा छुट नपाएको गुनासो आफूहरूले नसुनेको बताए । उनले विद्यार्थीलाई यातायात भाडा छुटका लागि पहल गरेको बताउँदै नपाएको गुनासो नआएको बताए ।

उनले गुनासो आएको खण्डमा फेरी पनि आवाज उठाउन तयार रहेको र विद्यार्थीको हकहितका लागि काम गर्न तत्पर रहेको बताए ।

‘हामीले विद्यार्थीलाई भाडा छुट दिलाउन धेरै पहल गरेका हौँ, हाम्रो योजना हो विद्यार्थी भाडा छुट गराउने, त्यो सफल भएको छ,’ उनले भने, ‘अहिले साँझ भाडा छुट नपाएको गुनासो आएको छैन, आएपछि फेरी हामी एक्सन लिन्छौँ ।’

भाडा छुट पाइएन ? १०३ मा फोन गर्नुस्

काठमाडौँ उपत्यकाका चालक र सहचालकहरूले आफूखुसी भाडा असुल्न थालेपछि यसको प्रत्यक्ष मार सर्वसाधारणमा परेको छ ।

यता, प्रहरीले भने बस चालक र सहचालकले बेलुका ८ बजेपछि भाडा छुट नदिए नियम अनुसार कारबाही हुने बताएको छ । प्रहरी महानिरीक्षक दीपक गिरीले धेरै भाडा असुल्ने वा छुट नदिने बसलाई कारबाही गरिरहेको बताए । उनले गाडी भाडाको रेट हेरेर कारबाही गरिने जानकारी दिए ।

‘छुट नदिएको वा भाडा बढी लिएको हो भने त्यस्ता बस चालक वा सहचालक नियम अनुसार कारबाही हुन्छ’ उनले भने,‘कहाँबाट कहाँ जाँदा कति भाडा लिनुपर्ने, कति लियो, बढी भाडा लिएको रहेछ भने भाडाको रेट हेरेर कारबाही गरिरहेका छौँ ।’

प्रहरी महानिरीक्षक गिरीले भाडा बढी लिएको वा छुट नदिएको पाइए १०३ नम्बरमा सम्पर्क गरि उजुरी दिन सबै विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *