रवि लामिछानेबारे अदालतले भन्यो-कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन [पूर्णपाठ]
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
थुनछेक बहसपछि बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाननेविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको थियो ।
जिल्ला अदालत काठमाडौंले रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्धाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने अदालतको आदेशमा उल्लेख छ ।
अदालतको आदेश लगत्तै ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि उनी हिरासत मुक्त भएका हुन् । हिरासतमुक्त भएपछि लामिछानेले देशमा न्याय नमरेको बताए । आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताउँदै उनले भने, ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका लामिछाने आइतबार स्वयं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।