रास्वपाको परिचालित भेडा जमातले वकिल कुट्यो, विज्ञप्तिमार्फत ढाकछोप गर्न खोजिनु लज्जास्पद : सूर्य थापा
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपाले वकिलमाथि भएको हातपातको घटनाको तथ्य लुकाउन खोजेका आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपाका कार्यवाहक प्रवक्तालाई सम्बोधन गरेर घटना ढाकछोप गर्न खोजिनु लज्जास्पद भएका बताएका हुन् ।
उनले भनेका छन्,
‘प्रिय साथी माननीय मनिष झाजी
संग्रामी अभिवादन !
तपाईँ शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै !
राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला। सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भीकतापूर्वक काम गर्न अवरोध गरेर यहाँहरूले कात्तिक ३ गते देखि नै दुनियाँलाई आश्चर्यचकित र लज्जित तुल्याउनु भएकै छ ।’
वकिलमाथीको हमलाले रास्वपाको मुहारमा कलंकको कालो पोतिएको उनको जिकिर छ । ‘को रास्वपाको चौअन्नी हो कि होइन ? यसमा दुनियाँलाई छु मतलब ? खासमा त्यो भिजिलान्ते जत्था रास्वपा र अभियुक्त रवि लामिछानेको भजनमण्डलीका रूपमा त्यहाँ तैनाथ थियो, जसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्ध आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ,’ उनले भने, ‘सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र आपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ । उल्टै यहाँले जारी गरेको वक्तव्यमा एक मधेसीमूलका बौद्धिक व्यवसायीमाथि भएको ज्यादतीमा अर्को मधेसी मूलकै विधायकले तथ्यको ढाकछोप गर्न र बारदातमा संलग्नता लुकाउन गरेको अनुचित कोसिस देख्दा तपाईंहरूको ‘नयाँ र जान्ने’ भन्ने दावीसमेत खोक्रो बकवास रहेको तथ्य उदाङ्गो भएको छ ।’
थापाले रास्वपाद्वारा परिचालित भइरहेको भेडा जमातले सोसल मिडिया प्रदूषित गरेको बताए । ‘आफ्नै जत्थाले गरेको कुकर्म र अपराधमा यति निरीहता प्रदर्शन गरेर वक्तव्य दिनुपर्ने दुःख किन बेसाउनु भएको होला ? सहकारीका पीडकको पक्षमा बहस गर्न आफैले सरकारलाई कार्यान्वयन गर्न निर्णय गरेको प्रतिवेदनको सिफारिस विपरीत सांसदको लोगो कालो कोटमा टाँसेर अदालतको इजलासमा पुग्ने माननीय महोदय रहेको समूहबाट कस्तो नैतिकता र आचारसंहिताको अपेक्षा गर्ने ?,’ उनले अगाडि भनेका छन्, ‘ठोकेर भन्न सकिन्छ– दिनेश त्रिपाठीमाथिको आक्रमण सहकारी ठगहरूले गरेको हो । तिनलाई पीडितको पक्षमा बोल्ने, लेख्ने र बहसपैरवी गर्ने जोकोही व्यक्ति सैह्य छैनन् । तपाईँको नजिकै आडमा बसेर सम्प्रेषण गरिरहेका यूटुबर, पेज र अन्य परिचालित मिडियामा पनि तथ्य स्पष्टै छ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो ।
सम्बन्धित समाचार
सहकारी पीडितको पक्षमा बहस गरेका त्रिपाठीमाथि आक्रमण
रास्वपाले भन्यो- अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ