कांग्रेस वरिष्ठ नेता कोइराला र बेलायती पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायती संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग विशेष भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल-बेलायत सम्बन्धलाई थप प्रगाढ बनाउने र आपसी सहयोगका नयाँ आयामहरू खोज्ने विषयमा गहन छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ । कोइरालाले बेलायतको सहायताबाट नेपालमा निर्माण भएका आयोजनाहरूलाई थप सहयोग गर्ने प्रस्ताव पनि अघि सारेका थिए ।
यसअघि, डा. कोइरालाले नेपालमा शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन अनमिन प्रमुख इयान मार्टिनसँग लन्डनमै भेट गरेका थिए । मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै पूर्ण रूपमा सम्पन्न नभएकाले यसलाई छिटो टुंग्याउन सुझाव दिएका छन् ।
कोइरालाको सचिवालयका अनुसार नेपालको स्थायित्व र प्रगतिका लागि अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण भूमिका रहने कुरामा दुबै पक्ष सहमत देखिएका थिए ।