संकटमा ओली सरकार !

विश्लेषक भन्छन् – वर्तमान सरकार लामो समय जाँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ६ महिनामै संकटमा परेको छ ।

राजनीतिक स्थायित्वसंगै सुशासन,विकास,समृद्धिलाई केन्द्रमा राखेर गत असार ३० गते संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओली चौथो पटक प्रधानमन्त्री बन्न सफल भए । तर,प्रधानमन्त्री बनेको छोटो (६ महिना) समयमै ओली सरकार संकटमा परेको हो ।

स्वयं प्रधानमन्त्री ओलीले नै सरकार संकटमा परेको संकेत गरेका छन् । सोमबार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा बोल्दै उनले सरकार संकटमा रहेको संकेत गरेका हुन् । उनले त्यसक्रममा भनेका थिए,‘राष्ट्रिय हितलाई तिलाञ्जली दिएर एमाले सत्तामा जाँदैन,सत्तामा रहनकै लागि जे सुकै निर्णय गरिदैन ।’

उनले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने,सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जे सुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताए ।

‘हामीले हाम्रो भूअवस्थालाई बिर्सिएका छैनौँ तर,भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने,सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जे सुकै पनि निर्णय गर्ने,राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहीन,अनैतिक कामहरु हामी गर्दैनौँ, त्यो कुरामा हामी अडिग रहन्छौँ,’ओलीले भनेका थिए । नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरुसंग खुलस्त मित्रतापूर्ण ढङ्गले आफ्ना तर्क राख्नुपर्ने त्यसक्रममा ओलीले बताए ।

विपक्षी दल सरकार ढल्नेमा विश्वस्त

यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सहितका अन्य प्रतिपक्षी दलहरु भने सरकार ढल्नेमा विश्वस्त छन् ।

विपक्षी दलहरुले ओली नेतृत्वको सरकार ढल्ने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान ओली नेतृत्वको सरकार ढाल्न आफुहरुले बल गर्नै नपर्ने बताउँछन् ।

उनले सार्वजनिक कार्यक्रमहरुमा ओली नेतृत्वको अप्राकृतिक,अलोकतान्त्रिक सरकार ढाल्न आफुले केही गर्नै नपर्ने बताउँदै आएका छन् । ओली नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको उनले बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्डले आज (मंगलबार) मात्रै नेपाली कांग्रेसका नेताद्धय शशांक कोइराला र चन्द्र भण्डारीलाई संगै राखेर ओली नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको दोहोर्‍याए । चितवनमा सञ्चारकर्मीहरुसंग बोल्दै उनले ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका हुन् ।

सरकार संकटमा छैन,पूरै समय जान्छ : सत्तापक्ष

यता सत्तापक्ष दलहरुले भने वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार कुनै पनि किसिमको संकटमा नरहेको बताए । सात बुँदे समझदारीको जगबाट वर्तमान सरकार गठन भएको उल्लेख गर्दै समझदारी अनुरुप सरकार अघि बढिरहेको उनले बताए ।

वर्तमान सरकारले निष्पक्ष,स्वतन्त्र ढङ्गबाट कामकारबाही अघि बढाएको उनी बताउँछन् । निराशालाई चिर्दै कानूनी प्रवन्धहरुलाई सुधार गर्दै ओली नेतृत्वको सरकार अघि बढेको बताउँदै प्रमुख सचेतक बर्तौलाले मकालुखबरसंग भने,‘वर्तमान सरकार सञ्चालनमा कुनै खटपट छैन । नेपाली कांग्रेस र नेकपा एमालेबीच पूरै समझदारी छ,उच्च तहको विश्वास छ,सरकार गठन हुँदा गरिएको सात बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्छौँ,’ ।

सरकारको नेतृत्वमा आउनका लागि विपक्षी दलहरुले सरकारको आयुबारे बोलिरहेको भएपनि सरकार तलमाथि नहुने उनले प्रष्ट पारे । मुलुकको विकास,समृद्धि,सुशासन,सामाजिक न्यायको कार्यभारलाई सफल बनाउने गरी वर्तमान सरकारले काम गरिरहेको उनले बताए ।

त्यस्तै सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसले पनि सरकार पूरै पाँच वर्षसम्म जाने बताएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अहिलेको सत्ता समीकरण संसदको बाँकी अवधि पुरै चल्ने बताए ।

उनले मकालुखबरसंगको संवादमा भने,‘यो सरकार संसदको बाँकी अवधि पुरै चल्छ । किनभने हामीसंग विकल्प छैन,नेकपा माओवादी केन्द्रसंग सहकार्य गरेर हेर्‍यौँ । डेढ वर्षमा चार वटा सरकार परिवर्तन भए । अब,अस्थिरताले मुलुकलाई हित गर्दैन,अस्थिरताका कारण आर्थिक रुपमा कमजोर हुँदै गयौँ,त्यसकारण मुलुकलाई स्थायित्व दिनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको विकल्प छैन ।’

कांग्रेस र एमालेबीच कुनै पनि किसिमको मतभेद नरहेको उनले बताए । ‘नेकपा एमालेसंगको सहकार्य तोड्ने सोचेका छैनौँ,एमालेले सोच्ने कुरै भएन,’उनले भने ।

पार्टीको आधिकारिक निर्णयले वर्तमान सरकार गठन भएको बताउँदै कुनै खेमा,नेताले भनेर सरकार तलमाथि नहुने उनले प्रष्ट पारे । दुई/चार जना नेताहरुले सरकारको विरोध गर्दैमा त्यसले सरकार ढाल्ने ताकत नराख्ने उनी बताउँछन् ।

ओली सरकार लामो समय जाँदैन : राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईं ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने बताउँछन् । ‘बाह्य प्रभाव र भूराजनीतिक चपेटाका कारण शीघ्र नभनौँ लामो समयसम्म ओली नेतृत्वको सरकार नजान सक्छ,’उनले मकालुखबरसंगको संवादमा भने ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति आन्तरिक चलखेल थाहा पाएर बोलिएको अभिव्यक्ति हो भन्ने आफुलाई लागेको समेत राजनीतिक विश्लेषक डा.चापागाईंले बताए । यद्यपि नेपाली कांग्रेसले खुट्टा नकमाएसम्म ओली नेतृत्वको सरकार ढल्ने सम्भावना नरहेको राजनीतिक विश्लेषक डा.चापागााईंले बताए ।

उनले भने,‘जबसम्म कांग्रेसले खुट्टा कमाउँदैन तबसम्म सरकार ढल्ने सम्भावना अलि कम छ,किनभने दुई वटा ठूला पार्टी मिलेर सरकार बनाएका छन् र कांग्रेसले खुट्टा नकमाएदेखी यो सरकार नढल्नुपर्ने हो ।’

वर्तमान सरकार कसैले ढाल्छु भनेपनि ढाल्न नसकिने सरकार रहेको भन्दै उनले भने,‘वर्तमान सरकार कसैले ढाल्छु भनेपनि ढाल्न नसकिने सरकार हो । यस्तो बेलामा बाह्य शक्तिले शीघ्र खेल्न पाउँदैन’ ।

‘बाह्य शक्ति खेल्न नपाइरहेको अवस्थामा टालाटुली बटुलीको अर्को सरकार निर्माण गर्नुपर्छ भनेर बाह्य शक्ति सलबलाइरहेकाले त्यसैको चपेटामा नेपाली कांग्रेसको एउटा खेमा पनि परेको र त्यसले कुनै संकेत गरेको हो की ? जस्तो लाग्छ प्रधानमन्त्रीको अहिलेको भनाईमा,’चापागाईंले भने ।

भारतले नेपालको राजनीतिक,सामाजिक,प्राकृतिक श्रोत साधन लगायतमा आफ्नो प्राथमिकता चाहिरहेको अवस्थामा त्यसलाई ओलीले स्वीकार नगरेको उनी बताउँछन् ।

भारत सहित पश्चिमा राज्यहरु अहिलेको ओली नेतृत्वको सरकारसंग सन्तुष्ट नरहेको उनले बताए । ओलीले चीन भ्रमणमा गएर बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत सहित पश्चिमाहरु खुसी नभएको राजनीतिक विश्लेषक डा.चापागाईंले बताए ।

‘भारतको जुन अतिक्रमण शैली छ,राजनीतिक,समाजिक,प्राकृतिक श्रोत साधन लगायत सबैमा मेरो प्राथमिकता हुनुपर्छ भन्ने खालको धारणा राखिरहेको छ,त्यो कुरालाई उहाँ (ओली) ले स्वीकार गर्नुहुन्न,’राजनीतिक विश्लेषक डा.चापागाईंले भने ।

‘भारत ओली नेतृत्वको सरकारप्रति पहिलेदेखी नै खुसी नभएको अवस्था हो,चीनको बीआरआई फ्रेमवर्कमा नेपालले हस्ताक्षर गरेपछि पश्चिम अमेरिकाहरु पनि वर्तमान सरकारसंग त्यति धेरै खुसी छन् जस्तो मलाई लाग्दैन’,राजनीतिक विश्लेषक डा.चापागाईंले भने । ओलीको पछिल्लो अभिव्यक्ति भारतसंग शिर झुकाउने पक्षमा आफु नरहेको भन्ने सन्देश रहेको डा.चापागाईंले बताए ।

भारतको स्वार्थ अनुसार प्रधानमन्त्री बन्ने क्रम यो देशमा धेरै पटक रहिरहेको छ,त्यही कारण प्राकृतिक श्रोत साधनदेखी लिएर जलविद्युतका ठेक्का लगायत हरेक खालका सम्झौताहरु त्यस्तै समयमा हुने गरेका बताउँदै राजनीतिक विश्लेषक डा.चापाागाईंले भने,‘प्रधानमन्त्री ओलीले त्यसलाई इंगित गरेर तपाईहरु भारतसंग लम्पसार परेर सरकारमा रहिरहन,सरकार टिकाउने र राष्ट्रिय रक्षालाई आफ्नो पदसंग धरौटीमा राखेर आवश्यक पर्दा राष्ट्रिय सुरक्षालाई सम्झौता गर्ने किसिमले पद खाइरहनुहुन्छ भने म त्यसरी पद खाइरहन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *