विद्यार्थीको डरलाग्दो विदेश पलायन, कति फर्किन्छन् ?
काठमाडौं । पढ्नका लागि बिदेसिने विद्यार्थीको संख्या बढ्दा उच्च शिक्षाका निम्ति बर्सेनि नेपालबाट बाहिरिने रकम पनि बढ्दै जान थालेको छ । स्वदेशमा सम्भावना नदेखेपछि सुनौलो भविष्यको खोजीमा बिदेसिने नेपालीहरूको संख्या बढेको हो ।
उच्च शिक्षाका लागि यसरी व्यापक मात्रामा नेपाली विद्यार्थी विदेश जाँदा देशको विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने तथा दक्ष जनशक्ति पलायनको अवस्था आउनसक्ने चिन्ता बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म)मा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४७ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको सटही सुविधा पाएका छन् । गत वर्षको सोही अवधिमा ४७ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको सटही सुविधा विद्यार्थीहरूले पाएका थिए ।
नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले त्यहाँ शुल्क तिर्नका लागि विदेशी मुद्रा सटहीको सुविधा पाउने गर्छन् । पछिल्ला वर्षहरूमा नेपालबाट विदेश जाने विद्यार्थीको संख्या र त्यसमार्फत् विदेशी मुद्रा बाहिरिने क्रम निरन्तर बढिरहेको अधिकारीहरू बताउँछन् । आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा भने नेपालबाट विदेश जाने विद्यार्थीहरूले २८ अर्ब ८० करोड ८६ लाख रुपैयाँ बराबरको रकम विदेश लगेका थिए । गत आर्थिक वर्षमा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको विवरण छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो । पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले नेपालको शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन लेटर’ (एनओसी) लिनुपर्ने व्यवस्था छ । दैनिक औसतमा दुई देखि तीन सय नेपालीहरूले विदेश जानका लागि त्यस्तो एनओसी लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, यूके, क्यानडा, अमेरिका, दक्षिण कोरिया, भारतलगायत छन् । गत साउनदेखि माघ ४ गतेसम्मको विवरण हेर्दा यस अवधिमा कुल ५० हजार १ सय ९० जनाले एनओसी लिएको मन्त्रालयको एनओसी शाखाका रुजु गर्ने अधिकारी खडोस सुनुवारले बताए ।
गत वर्ष साउनदेखि माघ ४ गतेसम्मको विवरण हेर्दा त्यस बेला ४३ हजार ८ सय ५५ जना र त्यसभन्दा अघिल्लो वर्षको सोही अवधिमा ४२ हजार ६ सय ५० जनाले एनओसी लिएका थिए । यो विवरणले पनि हरेक वर्ष विदेश जान चाहने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ ।
नेपाली शैक्षिक संस्थाको सेवामाथि गुणस्तरको प्रश्न, पढाइ सकिएपछि अवसरको अभाव, बेरोजगारी, महँगीलगायत विभिन्न बाध्यताका कारण वैदेशिक अध्ययन गर्न जानेको संख्या बढेको शिक्षाविद् सुसन आचार्य बताउँछिन् । ‘यहाँको राजनीतिक अस्थिरतालगायतका कारणले गर्दा ११ कक्षा पढ्दादेखि नै बिदेसिनका लागि तयारी गर्ने र १२ कक्षा सकेपछि विदेश जाने प्रवृत्ति नै बन्यो,’ उनले भन्छिन्, ‘हाम्रोमा अहिले पनि एउटा विषय पढेको मान्छे अर्को संकाय वा विषयमा जान्छु भन्दा पाउँदैन तर विदेशमा त्यस्तो गर्न पनि पाइन्छ । त्यस्तै लचिलो व्यवस्था यहाँ भयो भने पनि कतिपय विद्यार्थीलाई अड्याउन सकिन्छ ।’
तीव्र रूपमा नेपाली विद्यार्थी बिदेसिने क्रम रोक्नका लागि सरकारले ‘स्वदेशमै उच्च शिक्षा लिन प्रोत्साहन गर्ने’ नीति अख्तियार गर्नुपर्ने उनको सुझाव छ । उच्च शिक्षामा भइरहेको राजनीतिकरण तथा परीक्षाको नतिजा ढिलो आउनेलगायतका समस्या हल गर्न आवश्यक छ ।