टिप्परको ठक्करबाट एकको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![टिप्परको ठक्करबाट एकको मृत्यु](https://www.makalukhabar.com/wp-content/uploads/2024/09/accident-mk.jpeg)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिवार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको र पछाडि बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
गम्भीर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिवार राति नै पोखरा पुर्याइएको थियो ।
टिपरका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)