शिलान्यासको सत्र वर्षपछि कालो पत्र
कैलाली । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालो पत्र गर्ने काम सुरु गरेको हो ।
सो सडकको नौ सय मिटर सडक कालो पत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालो पत्र गर्ने काम अघि बढेको छ ।
उनले फागुन मसान्तभित्र सडक कालो पत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए ।
चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालो पत्र गर्नका लागि १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ ।
चुरे क्षेत्रको सडक कालो पत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ ।
सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तर वृद्धि गरिने उनले जानकारी दिए ।
चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तर वृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।
चौमाला–खैराला सडकको स्तर वृद्धि नहुँदा हरेक वर्षा याममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए ।
चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तर वृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ ।
चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।