अन्तर्वार्ता

कोरियाको भिसा त्यागेर लिम्चुङबुङलाई समृद्ध बनाउन कस्सिएका राई [भिडिओ]

काठमाडौं । लिम्चुङबुङ गाउँपालिका कोशी प्रदेशको उदयपुर जिल्लामा पर्ने आठ वटा स्थानीय तह मध्येको एक सम्भावनायुक्त स्थानीय तह हो ।

साविकमा यस गाउँपालिकाको नाम सुनकोशी भएपनि स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम गाउँपालिकाको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन् ।

देशभर ७ सय ५३ स्थानीय तहहरु रहेका छन् । तीमध्ये दुई/चार पालिका प्रमुखहरुको नाम मात्रै सुनिने गरिन्छ । अझ भनौँ स्वतन्त्र रुपमा उदाएकाहरुको मात्रै चर्चा हुने गरेको छ । यस्तो अवस्थामा उदयपुरको लिम्चुङबुङ गाउँपालिका एकै पुस्तामा गाउँलाई समृद्ध बनाउने योजनालाई साकार पार्न तल्लीन छ ।

यस गाउँपालिकाको अध्यक्षका रुपमा मेजर कुमार राई छन् । उनी नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । चर्चा कमाउनु आवश्यक नरहेको भन्दै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

अध्यारोबाट उज्यालोतर्फ अघि बढेको गाउँपालिकालाई एकै पुस्तामा समृद्ध बनाउने योजना राईको छ । समस्याले गिजोलिएको लिम्चुङबुङलाई समृद्ध,सुसभ्य एवं रोग,भोक र शोकबाट मुक्त गराउन भन्दै दक्षिण कोरियाको राम्रो अवसर छोडेर उनी गाउँ फर्किए ।

उनै राईसंग मकालुखबरकर्मी राजेश भुलले पालिकाको विगतको अवस्थादेखी आगामी योजनासम्मका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष राईसंग गरिएको कुराकानीको सम्पादित अंश-

तपाईं सपनाको देश कोरियाको राम्रो जागिर छोडेर नेपाल आउनुभयो । नेपाल के सोच बनाएर आउनुभएको थियो  ?

नेपाली बेरोजगार युवाहरुका लागि सपनाको देश हो,दक्षिण कोरिया । कठिन काम गरेर भएपनि आफ्नो सपना पुरा गरिरहेका छन् । मैले पनि एउटा अवसर पाएको थिए । इपिएस प्रणालीले त्यो अवसर दिएको थियो ।

पाँच वर्ष त्यहाँको भिसा सकेर फेरी दोस्रो कार्यकालका लागि गएको थिए । तर,चार वर्षको भिसा छाडेर नेपाल फर्किए । आफ्नो गाउँ-ठाउँको विकास,समृद्धिका लागि भनेर म भिसा छाडेर नेपाल आए ।

रोग,भोक,शोक देखेर त्यसलाई बदल्नुपर्छ भन्ने सोचले नै आफ्ना अवसरलाई त्यागेर स्वेदश फर्किए,र लिम्चुङबुङबासीले मेरो आगमनलाई न्याय गरिदिनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनताले मलाई जिताए ।

तपाईं आउँदा समाज कस्तो थियो ?

म गाउँ फर्किदाखेरी नागरिकहरुले गरिबी,अभावमा जीवन बिताइरहेका थिए । विजुलीवत्ती,सडक संगै शिक्षा,स्वास्थ्यको धेरै नै समस्या थियो ।विजुली थिएन,सडकको अवस्था पनि राम्रो थिएन । एक हिसाबले गाउँ विघटनको संघारमा थियो ।

तपाईंले पहिलो कार्यकाल (स्थानीय तह निर्वाचन,२०७४) मा लिम्चुङबुङबासीका लागि के-के काम गर्नुभयो ?

लोकतन्त्रमा जनता आफैले काम गर्दैन तर,आफुले जिताएको जनप्रतिनिधिमार्फत गर्छ । हामीले जनतासंग मिलेर काग गर्‍यौँ । जनतासंग मिलेर सुरुमा यहाँ अन्धकार थियो । आज अन्धकार छैन । उज्यालो लिम्चुङबुङ गाउँपालिका भएको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहमध्ये पहिलो चोटी उज्यालो लिम्चुङबुङ घोषणा गर्न सफल भयौँ ।

हिजो स्वास्थ्यमा धेरै समस्या थियो । आज सुविधासम्पन्न बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी छन् । पालिकामा एउटा सुविधासम्पन्न अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छौँ । जो हिजो थिएन सदरमुकाम जानुपर्थ्यो ।  शिक्षामा पनि आमूल परिवर्तन गर्न लागिपरेका छौँ । त्यस्तै कृषिमा पनि व्यावसायिक कृषि कार्यक्रम अघि बढेको छ ।

पहिले सुनकोशी गाउँपालिका भन्ने थियो । तर,स्थानीय तहको चुनावपछि जनताले आफ्नो अधिकार प्रयोग गरेर आज लिम्चुङबुङ गाउँपालिका बनाएको छ । लोकतन्त्रको अधिकत्तम प्रयोग जनताहरुले गरिरहेका छन् ।

हामीले गर्न सकेको काम गरिरहेका छौँ । धुलाम्य सडक भएपनि घरघरमा सडक पुगेको छ । पहिलो कार्यकालमा पूर्वाधारका कामहरु गर्न सक्यौ,कानूनहरु पनि बनायौँ ।

दोस्रो कार्यकालका लागि तपाईं अध्यक्षमा निर्वाचित भएको झण्डै तीन वर्ष पुग्नै लागेको छ,यहाँसम्म आइपुग्दाको अनुभव कस्तो रह्यो ?

तितामिठा सबै खाले अनुभवहरु छन् ।  हाम्रो तर्फबाट इमान्दार भएर काम गरिरहेका छौँ । प्रदेश र संघीय सरकारले सहकार्य, सह-अस्तित्व र समन्वयका हिसावले चाही चाहीँ अपेक्षित काम भएका छैनन् । पक्की सडकहरु बन्न सकिरहेको छैन । लिम्चुङबुङ गाउँपालिकाका जनताहरुले आफ्ना अधिकारहरु खोजिरहेका छन् ।

पाँच वटा वडाहरु रहेको गाउँपालिकामा शिक्षा,स्वास्थ्य,कृषि संगै विकास निर्माणको अवस्था कस्तो छ,यसमा गाउँपालिकाले कत्तिको काम गरेको छ ?

पाँच वर्ष हाम्रो लागि ठूलो कुरा भइदियो । यस अवधिमा हाम्रो गाउँठाउँको सम्भावना,शिक्षा,स्वास्थ्यमा समस्या के छ ? कृषिमा समस्या के छ ? घर-घरको समस्या के छ ? अनि यी समस्याहरु समाधान कसरी गर्ने भन्ने लामो रिसर्च (अनुसन्धान) गर्‍यौँ ।

शिक्षाका समस्या चाही हाम्रो खानपानसंग छ,हाम्रो सोच,कार्य, व्यवहारसंग छ । त्यसकारण शिक्षा बदल्न शिक्षाको मात्रै कुरा गरेर हुँदैन,कृषि बदल्न कृषिको कुरा मात्रै गरेर हुँदैन । यी सबै कुरा एकअर्कासंग अन्तर सम्बन्धीत छन् ।

यी सबै कुराहरुलाई एकै पटक रुपान्तरण गर्नुपर्छ भन्ने हिसाबले एकै पुस्तामा गाउँपालिकालाई २० वर्षभित्र समृद्ध बनाउनुपर्छ भनेर लागिरहेका छौँ । अहिले आठौँ वर्षमा मेरो कार्यकाल रनिङ भइरहेको छ । तेस्रो,चौथो कार्यकालमा चाही गाउँपालिकालाई जनताले समृद्ध बनाउँछ ।

लिम्चुङबुङ गाउँपालिकाले जंङ्ग फुड,मदिरा,पेय पदार्थहरुमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाउनु पछाडीका कारणहरु के छन् ? 

हामीले विगतमा पनि अनेकौं कोसिसहरु गर्‍यौँ । एउटा डक्टरले पनि पहिला विरामीको समस्या सुन्छ र त्यसपछि मात्रै उपचार गर्नतिर लाग्छ । त्यसैअनुरुप हामीले पनि हाम्रो गाउँठाउँ रोगी भयो । हाम्रो जनता पनि रोगी भयो । के कारणले भन्दा खानापानको कारणले ।

गाउँपालिकाले  कुनै व्यवसायी,कम्पनीका विरुद्ध यो निर्णय गरेको होइन । बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । जनताको रक्षा गर्ने हाम्रो दायित्व हो । विभिन्न मिसावटयुक्त खानाहरुले जनता विरामी पर्ने समस्या अनी पालिकासंग सहयोग माग्न आउने । तर, हामीले बुझ्दै जाँदा उहाँहरु विरामी पर्नुको कारण आयातीत खाना रहेछ ।

यो निर्णय गर्नु पछाडीको कारण भनेको जिवन रक्षाको लागि,रोग,भोक,शोकको दलदलबाट निकाल्न,ग्रामीण अर्थतन्त्रको निर्माण, नागरिकलाई स्वस्थ बनाउन,स्थानीय उत्पादन खाने बानीको विकास गर्न,उत्पादनपछि खेतबारी बाँझो हुन पनि छोड्छ र समग्र स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ । यसबाट शिक्षा,स्वास्थ्य पनि सफल हुने र जनताले देखेको एकै पुस्तामा समृद्धिको सपना पुरा हुने हुँदा यो कदम चालेका हौँ ।

तीन वर्षसम्मको अवधिमा आइपुग्दा के-कस्ता चुनौतीहरुको सामना गर्नुपर्‍यो ?

मैले कहिल्यै पनि चुनौतीतर्फ हेरिन । चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्दै गएका छौँ । टोल विकासहरुले पनि अहिले पालिकाको निर्णयलाई लागू गर्न थालेका छन् । हाम्रो कुरा जनताले बुझेका छन् । जनताले हाम्रो अभियान भन्ने अपन्तव गरेका छन् । जंगफुड रहित पुस्ता निर्माणमा हामी लागेका छौँ ।

गाउँकै उत्पादनमा  आधारित व्यवसाय निर्माणमा हामी लागेका छौँ । परनिर्भरताको अन्त्यका लागि हामी लागेका छौँ । बाहिर(विदेश) गएको मान्छेले खानको लागि मात्रै घरपरिवारलाई पैसा पठाउनुभन्दा कुनै व्यवसाय गर्नका लागि पैसा पठाउनुभयो भने यसले परनिर्भरता हट्दै जान्छ र आत्मनिर्भर हुन्छौँ । बाहिर गएको मान्छे र घरका मान्छे कमाउन थाले पो परिवार हुँदै गाउँ समाज समृद्ध बन्छ । यसतर्फ हामी लागिपरेका छौँ ।

निर्वाचनको दौरानमा होमिदै गर्दा जनतासंग गरेका बाचाहरु पुरा गर्न सफल हुनुभयो ?

चुनावी दौरानमा जनतासंग गरेका बाचाहरु पुरा गर्दै अघि बढिरहेका छौँ,जनताको भरोसा पाएकै कारण दोस्रो कार्यकाल पनि पालिकाको नेतृत्व गर्ने अवसर मिलेको छ ।

अझै कामहरु गर्न बाँकी नै छ । जनतासंग हातेमालो गर्दै अघि बढिरहेका छौँ । जनतामा रहेको रोग,भोक,शोकलाई निवारण गर्नुपर्नेछ, त्यसमा हामी लागिपरेका छौँ ।

गाउँपालिकाले नागरिकलाई दिने सेवा प्रवाह कस्तो छ ?

नागरिकलाई दिनका लागि गाउँपालिकालाई दिइएको अधिकारको पूर्ण उपयोग गरिएको छ । सबै किसिमका सेवाहरु हामीले सहज ढङ्गबाट दिइरहेका छौँ । इमान्दारपूर्वक हामीले सेवा प्रवाह दिइरहेका छौँ । पहुँचका भरमा सेवा प्रवाह दिने,भ्रष्टाचार जस्ता कुराहरु हामी कहाँ सुन्न पाउनुहुन्न । हामी त उभिएका मात्रै  हौँ । सरकार त जनताले जनताले चलाइरहनुभएको छ ।

तपाईं माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुहुन्छ,उपाध्यक्ष कांग्रेसले जितेको छ,काम गर्न कत्तिको सहजता छ ?

धेरै स्थानीय तहहरुमा असहमतिहरु देखिन्छ । तर,हाम्रोमा त्यस्तो छैन । हामी एकदमै खुसी छौँ । साँझा रुपमा काम गर्ने हो । एउटा निर्णयमा पनि असमझदारी छैन । एकदमै मिलेर काम गरिरहेका छौँ । सबैको शक्ति लगाएर जनतालाई रोग,भोक,शोकबाट मुक्त गर्ने एकसुत्रीय ढङ्गगबाट लागेका छौँ । जनतालाई खुसी समृद्धि दिने लक्ष्य छ ।

गाउँपालिकालाई पर्यटनको नयाँ गन्तव्य भन्नुभएको छ,पर्यटकीय सम्भावना के-के छन्,अनी त्यसमा पालिकाले कसरी काम गरिरहेको छ ?

नेपालमा पाइने हावापानी लिम्चुङबुङ गाउँपालिकामा पाइन्छ । सबै जातजातीको समुदाय यहाँ छ । सगरमाथा लगायत ८ हजारमाथिका ६ वटा हिमालहरु यहाँबाट देख्न सकिन्छ । हलेसी जान पनि सहज नै छ, पर्यापर्यटनका लागि एकदमै राम्रो ठाउँ हो ।

लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्यका रुपमा अघि बढिरहेको छ । हरेक युथहरु लिम्चुङबुङ गाउँपालिका घुम्न चाहन्छन् । पर्यापर्यटनको लागि लिम्चुङबुङ गाउँपालिका प्राकृतिक,सांस्कृति संगै संस्कृतिको संगम स्थल हो ।

तपाईंलाई दोस्रो कार्यकालका लागि जनताले जिताएका छन् । यहाँ सम्म आइपुग्दा जनप्रतिनिधिबाट जनताहरुले गर्ने अपेक्षाहरु के-कस्ता रहेछन् ?

रोग,भोक,शोक हटाउन पाए हुन्थ्यो । विदेश जान नपरे हुन्थ्यो । आफ्नै गाउँठाउँमा रोजगारीका अवसरहरु सिर्जना भइदिए हुन्थ्यो । उत्पादन बिक्री गर्न पाए हुन्थ्यो । व्यवसाय गर्न पाए हुन्थयो । राम्रो शिक्षा,स्वास्थ्यको अवसर यही सिर्जना भए हुन्थ्यो । सानासाना अपेक्षाहरु छन् । धेरै ठूला अपेक्षाहरु छैनन् । जनताका अपेक्षा अनुरुप नै हामी काम गरिरहेका छौँ ।

गाउँपालिकालाई समृद्ध बनाउने तपाईंका योजना के छन् ?

गाउँपालिकालाई एकै पुस्तामा समृद्ध बनाउने भन्ने नै हो । यसलाई अझ भन्ने हो भने जनतामा रहेको रोग,भोक,शोकलाई हटाउँदै नागरिकलाई शिक्षित बनाउने,सु-सभ्य समाज निर्माण गर्ने,आत्मनिर्भर गाउँ बनाउने,विदेशिएका नागरिकलाई पनि गाउँ फर्कने वातावरण बनाउने हाम्रा योजना छन् । यसका लागि सरोकारवाला सबैसंग हामीले छलफल गरिरहेका छौँ । २०७४ देखी यहाँसम्म आइपुग्दा पनि हामी धेरै नै अघि बढिसकेका छौँ ।

अन्तिममा मैले सोध्न छुटाएका र तपाईंले भन्नैपर्ने केही छ ?

यथास्थितीमा काम गरेर हामी विकास गर्न सक्दैनौँ । समृद्धि हाँसिल गर्न सकिँदैन । जनतालाई रोग,भोक र शोकबाट मुक्त गर्न सकिँदैन । त्यसकारण सोच,बानी व्यवहार लगायत सबैमा कुराहरु रुपान्तरण गर्न जरुरी छ ।

समृद्धिको लागि नयाँ समाजको ढाँचा निर्माण गर्न गइरहेका छौँ । सबै मिलेर एकै पुस्तामा रोग,भोगलाई जितेर खुसी र समृद्धि हाँसिल गर्न सक्छौँ । समग्रमा एकै पुस्तामा लिम्चुङबुङलाई समृद्ध बनाउने योजनामा लाग्न सबैलाई आग्रह गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *