ताप्लेजुङ घटना : घाइतेहरुको उपचार सरकारले गर्ने
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन् ।
मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहसँग छलफल गरेका हुन् । शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल शुरु गरेका हुन् ।
छलफलबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै बिरोध केही वर्षदेखि नै भइरहेको बताए ।
केबुलकार बनउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको बताए । परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको बताए ।
उनले विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने बताए । बिरोधीहरुसँग पनि संवाद गर्ने निस्कर्ष निस्किएको बताए । घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
उनले सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको बताए ।