खबर दिनभर : ८४ को निर्वाचनपछि मात्रै सरकार परिवर्तन हुने,जय नेपाल कपको उपाधी मध्यपश्चिमलाई
सबै जातजातिको संस्कृति संरक्षण गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उनले उल्लेख गरे ।
राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे ।
भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र महत्वपूर्ण स्थान रहेको राष्ट्रपति पौडेलले बताए ।
सो अवसरमा शीतल निवासमा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचरण गर्नुका साथै तामाङको ताम्बा र बाम्बोको सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पारे ।
उनले सोनाम ल्होसारको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानवजगत्को कल्याणको शुभकामना व्यक्त गरेका थिए ।
मञ्जुश्री पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइन्छ ।
नेपाललाई श्रीलङ्का, बङ्गलादेश बनाउने सपना पुरा हुन दिइन्न : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन् । मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताए ।
उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताए ।
‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन्,’उनले भने,‘तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन ।’
लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए ।
प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए ।
०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताए । निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताए । ‘नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ ।
संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन’ उनले भने ।
सरकार परिवर्तन हुन्छ,तर ८४ को निर्वाचनपछि : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताएका छन् । मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको समेत बताए । उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताए ।
उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताए ।
लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए ।
अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताएका छन् ।
मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए । उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताए ।
उनले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताए । उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाए ।
‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जवरजस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ,’ उनले भने, ‘यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्नेमहसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं र बोलाउँछौं भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ ।’
अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताए । उनले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताए ।
उनले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताए ।
उनले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गरे ।
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत जिकिर गरे । ‘देशको विद्यमान यथार्थतामा नयाँ समाजवादी क्रान्तीको विकल्प आवश्यक छ । हामीले हा्रो जीवनमा जस्तो परिर्वनको अपेक्षा गरेको हो त्यस्तो हुन सकेन । विगतको लामो अनुभनवबाट एकथरि पार्टी र मानिसहरु परिवर्तनलाई उल्ट्याउने जमर्को गरिनै राखे । अहिलेपनि गरिरहेकै छन्’ उनले भने ।
आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उनको भनाइ छ ।
दुवै प्रहरी सङ्गठनसम्बन्धी विधयेक सङ्घीय संसद्मा दर्ता
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधयेक आज ९मंगलबार० सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले सरोकार भएका निकायहरूसँग आवश्यक छलफल र सहमतिपछि मन्त्रिपरिषद्बाट स्वीकृति लिएर दुवै विधयेक सङ्घीय संसद्मा दर्ता गरिएको जानकारी दिए ।
उनले शान्ति सुरक्षा, अमयनचयन र सुशासनका साथै पद बहालीसँगै आफूले प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमितामा राखेर विधयेक परिमार्जन तथा संशोधनका लागि सङ्घीय संसद्मा पेस गरिएको बताए ।
“प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ मा भएका प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सम्मानित सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न मितिमा भएका निर्देशनात्मक आदेश कार्यान्वयन गर्नाका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैङ्गिक संवेदनशील, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधयेक संसद्मा पेस गरिएको छ”, गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख, सहसचिव भरतमणि रिजालले भने ।
उनले नेपाल प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ संशोधनपश्चात् दुवै सङ्गठनलाई थप सुदृढ र कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको बताए । गृह मन्त्रालयले दुवै प्रहरी ऐनलाई प्रतिस्थापन गरी प्रहरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको जनाएको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि दुवै प्रहरी सङ्गठनको बृहत्तर हित हुने विश्वास व्यक्त गरिएको कानुन महाशाखा प्रमुख रिजालले जानकारी दिए ।
विधयेकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि हटाइने, कार्यालय सहयोगी र प्रहरी जवानले १६ वर्ष तथा प्रहरी सहायक हबल्दारदेखि प्रहरी नायब निरीक्षकसम्मले १८ वर्र्षे सेवा अवधिपछि अवकाश लिन पाउने लगायतका विषय समेटिएका छन् ।
यस्तै, प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवाअवधि तीन वर्ष राखिएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५९ वर्ष र सेवाअवधि तीन वर्ष राखिएको छ । “वि।सं। २०१२ सालमा बनेको प्रहरी ऐन ६९ वर्षसम्म सारभूत विषयमा नियावलीबाट चलेको थियो”, गृहमन्त्री लेखकले भने,“अब विधयेक पारित भए नियमित कामकाजका साथै सेवा प्रवाहमा पनि सहज हुनेछ ।”
प्रस्तुत विधयेकमा नेपाल प्रहरी सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति, काम, कर्तव्य र अधिकार, प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, तलब, बढुवा, भत्ता तथा अन्य सुविधा, उपदान तथा निवृत्तिभरण, आचरण, विभागीय सजाय तथा पुनरावेदन, मुद्दाको अनुसन्धान र दायरी, प्रहरी विशेष अदालत तथा बिदासहितको व्यवस्था समावेश गरिएको उनले बताए ।
नेपालको संविधानले परिकल्पना गरेबमोजिम प्रहरी सङ्गठनलाई प्रादेशिक क्षेत्राअधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्मअनुकूल हुने गरी व्यवस्था गर्न तथा प्रहरी सम्बन्धमा विश्वका अन्य देशले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइ विधयेक संसद्मा पेस गरिएको हो ।
नागरिकतासम्बन्धी विधयेक पनि सङ्घीय संसद्मा
गृहमन्त्री रमेश लेखकले आज नै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेका छन् । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउनुपर्ने र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा आदेशसहितको विषयलाई सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने भएकाले संशोधन विधेयक दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।
तत्कालीन अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ मा जन्मको आधारमा नागरिकता प्रदान हुने व्यवस्था भई सोहीबमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नेपालको नागरिकता प्रदान हुँदै आएकामा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल नागरिकता ऐन, २०६३ को विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएकाले उक्त विषय पनि विधेयकमा समावेश राखिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख रिजालले बताए ।
कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानेर वंशजका आधारमा नागरिकता प्रदान गर्ने विषय पनि विधेयकमा सम्बोधन गरिएको उनले बताए ।
“कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोहीबमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्नुपरेको हो । यसले संविधान र कानूनबमोजिम नागरिकता प्राप्तिमा सहजता प्रदान गर्नेछ”, उनले भने ।
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन मंगलबार आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।
केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको आज बसेको बैठकले औपचारिक रूपमा वार्ताको आह्वान गरेको हो ।
ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
“असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्दछ”, बैठकको निर्णयमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले गत मङ्सिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी र र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो ।
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ तेस्रो सातादेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनख्यामन्त्री प्रदीप पौडेलले अभियान सञ्चालनको योजना स्वीकृत गरेसँगै यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ ।
त्यसैगरी मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारी विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिरहेको छ ।
नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङ्कमा छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।
ताप्लेजुङ घटना : घाइतेहरुको उपचार सरकारले गर्ने
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन् ।
मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहसँग छलफल गरेका हुन् । शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल शुरु गरेका हुन् ।
छलफलबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै बिरोध केही वर्षदेखि नै भइरहेको बताए ।
केबुलकार बनउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको बताए । परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको बताए ।
उनले विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने बताए । बिरोधीहरुसँग पनि संवाद गर्ने निस्कर्ष निस्किएको बताए । घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
उनले सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको बताए ।
नेप्से परिसूचक २४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन एक दशमलव २३, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव २४ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।
चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ४३ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को दश लाख तीन हजार तीन सय कित्ता शेयर खरिदबिक्री भएको छ ।
सुनको मूल्य लगातार गिरावट
स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५९ हजार २ सय कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार १ लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।
सोमबार १ हजार ८ सय ५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ ले घटेर १ हजार ८ सय ३५ मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।
एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै बागमती प्रदेश सभापति कपको फाइनलमा
आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो ।
यससँगै बागमतीले यही माघ १७ गते सङ्कटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेताले रु १३ लाख प्राप्त गर्नेछन् ।
जय नेपाल कप टि-ट्वान्टी क्रिकेटको उपाधि मध्यपश्चिमलाई
नेपालको मध्यपश्चिम विश्वविद्यालयले मंगलवार जय नेपाल कप अन्तरविश्वविद्यालय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा भारतको लखउन विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
बंगलादेशको एक, भारतको तीन र नेपालका चार विश्विद्यालयलले जय नेपाल कप टी ट्वान्टी प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् । फाइनलमा दिवान पुन र विपिन खत्री चम्किँदा मध्यपश्चिमले भारतीय टोलीमाथि सहज जित निकालेको हो ।
मध्यपश्चिमले १७६ रनको लक्ष्य दिएको थियो । जबाफी लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो ।
लखनउका ओपनर मनन कन्दपालले ५८ रन, हर्षवर्धन सिंहले १५ रन र यस वर्धन सिंहले १४ रनको योगदान दिए । मननले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक अन्यले ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालको टोली मध्यपश्चिमका बलरले अनुशासित बलिङ गरे । दिवान पुनले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । उनले चार ओभरमा २२ रन दिए । दिवान प्लेयर अफ द फाइनलमा पनि भए ।
राजकुमार शाहले दुई तथा दिनेश अधिकारी, सुवास भण्डारी र रविन्द्रजंग शाहीले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७५ रन जोड्यो । मध्यपश्चिमको शुरुवात राम्रो हुन सकेको थिएन । ३८ रनमा जोड्दा नै चार विकेट गुमाइसकेको थियो ।
तर, दिवान र विपिनले अर्धशतकीय इनिङ खेल्दै मध्यपश्चिमलाई राम्रो स्थितिमा पु¥याए । दिवान ५८ रनमा रनआउट हुँदा विपिन ५९ रनमा नटआउट रहे । दिवानले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । २८ बलमा खेलेका विपिनको इनिङमा पाँच चौका र चार छक्का रह्यो ।
ओपनर निश्चल रावलले १९ र राजकुमार शाहले १५ रनको योगदान दिएपछि मध्यपश्चिमले राम्रो योगफल बनाएको हो । मध्यपश्चिमले अतिरिक्त १२ रन पनि पायो ।
लखनउले सात बलर नै प्रयोग गरे पनि सबै महँगा रहे । अभिशेक सोनी, मनन र हर्षवर्धनले समान एक विकेट लिँदा अन्य विकेटविहीन भए । प्रतियोगिताका विजेतालाई खेलाडीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पुरस्कृत गरे ।
त्रिकोणात्मक टी-२० शृङ्खला : खेल हेर्न प्रवेश नि:शुल्क
काठमाडौंमा सुरू हुन लागेको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० आई श्रृंखलाका खेलहरू हेर्न टिकट नलाग्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सबै खेलहरू टिकटबिना नि:शुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो । क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने बताएको छ ।
जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३(३ खेल खेल्ने छन् । श्रृंखलाका लागि नेपाली टोलीको घोषणा पनि भइसकेको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
यस्तो छ खेल तालिका
नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।
अफगानिस्तानद्वारा स्थानीय मुद्रा स्थिर राख्न २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा
अफगानिस्तानको केन्द्रिय बैंकले राष्ट्रिय मुद्रा अफगानीको स्थिरता कायम राख्न सोमवार २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा गरेको छ ।
मनी चेन्जर र निजी बैंकहरू लगायत बोलपत्रदाताहरूले केन्द्रिय बैंक द अफगानिस्तान बैंकमा अफगानीको रूपमा आवश्यक नगद जम्मा गर्नुपर्ने केन्द्रिय बैंकले बताएको छ । विगत एक महिनामा बैंकले अफगानीलाई स्थिर बनाउन र विदेशी मुद्राको तुलनामा यसको गिरावट रोक्न राष्ट्रको मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर थपेको छ ।
बैंकले २ करोड अमेरिकी डलर पनि लिलामी गरेको छ । हालैका हप्ताहरूमा अमेरिकी डलरको तुलनामा अफगानीले अवमूल्यन अनुभव गरेको छ । एक अमेरिकी डलरको लागि विनिमय दर लगभग ८०.५० अफगानी रहेको छ । जुन एक महिना अघि लगभग ६९.३० अफगानी थियो ।